राजनीति


सञ्चार मन्त्रालयका दुई निकाय खारेज गर्ने तयारी: विभागमा गाभ्ने, राजनीतिक नियुक्ति हट्ने

सञ्चार मन्त्रालयका दुई निकाय खारेज गर्ने तयारी: विभागमा गाभ्ने, राजनीतिक नियुक्ति हट्ने

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १३:३४, काठमाडौँ

प्रधानमन्त्री कार्यालयले  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका दुई महत्वपूर्ण निकायहरू विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्न प्रक्रिया अघि बढाएको छ। सरकारद्वारा गठित शासकीय सुधार तथा सुशासनसम्बन्धी कार्यदलले ती निकायहरूको औचित्य र प्रभावकारितामाथि प्रश्न उठाउँदै खारेजीको प्रक्रिया अघि बढाएको हो।

अघिल्लो सरकारका पालामा तयार पारिएको सुशासन सम्बन्धी प्रतिवेदन र वर्तमान सरकारको कार्ययोजनाका आधारमा यी निकायहरूको पुनर्संरचना वा खारेजीको प्रक्रिया अघि बढाइएको हो। 

सुशासन कार्यदलको प्रतिवेदनमा हाल विज्ञापन बोर्डले सम्पादन गर्दै आएका कार्यहरू सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालको समन्वयमा विद्युतीय प्रणालीमार्फत व्यवस्थापन गर्न उपयुक्त हुने उल्लेख छ। बोर्डमा राजनीतिक नियुक्तिका आधारमा पदाधिकारी चयन हुने परिपाटी रहेको छ। 

‘सुशासन समितिमा यो विषय परेको छ भन्ने सुन्नमा आएको छ। अहिले त्यो कार्यान्व्यन गर्ने तयारी भइरहेको हुनसक्छ’, सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले नेपालखबरसँग भने, ‘सुशासन समिति र प्रधानमन्त्री कार्यालयमा भएका कुराहरु मनत्रालय आइपुगेका छैनन्। मन्त्रालयमा आएपछि कार्यान्वयनतर्फ जान्छ।’

सुशासन समितिले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक र सेवा सुविधाको अनुगमन तथा सिफारिसका लागि गठित ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ को हालको संरचना पनि खारेज गर्न सुझाव दिइएको छ। समितिको सचिवालयले गर्दै आएका प्रशासनिक र प्राविधिक कार्यहरू सूचना तथा प्रसारण विभागलाई हस्तान्तरण गर्न सिफारिश गरिएको छ।

हाल विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाईँ छन्। न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा संगीता खड्का प्रमुख छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad