प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा दशकौँदेखि जकडिएको ढिलासुस्ती र कर्मचारीतन्त्रको जडतालाई चिर्न रिपोर्टिङ प्रणाली लागू गरेका छन्। प्रधानमन्त्री शाहले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई एउटै कसीमा राखेर अब हरेक दिनको कार्यसम्पादन विवरण साँझसम्म बुझाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सबै मन्त्रालय, विभाग, आयोगमा पत्रचार गरेर दिनभरीका सबै कामको विवरण बुझाउन भनेको हो। एक सचिवले प्रधानमन्त्री कार्यालयबाट पत्राचार भएको पुष्टि गरे। दिनभरीको कामको सबै विवरण बुझाउन पत्र आएको उनले जानकारी दिए।
दिनभरको कार्यविवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनका लािग सबै जसो मन्त्रालयले फोकल पर्सन तोकिसकेका छन्। यसको जिम्मेवारी सहसचिवलाई दिइएको अर्का सचिवले बताए।
‘हामीलाई आएको पत्र अनुसार हिजैदेखि दिनभरीमा सम्पादन भएका कामको जानकारी प्रधानमन्त्री कार्यालयमा पठाउन थालिसकेका छौँ,’ ती सचिवले नेपालखबरसँग भने।
सरकारले शासकीय सुधारसम्बन्धी सय वटा कामको कार्यसूची सार्वजनिक गरिसकेको छ। कार्यसूची कार्यान्वयन भए नभएको प्रधानमन्त्री शाहले दैनिक जानकारी लिन थालेका छन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्री शाहले कामको मूल्यांकन यसैलाई मानेका छन्।
‘प्रधानमन्त्रीले रिफर्म गर्दै हुनुहुन्छ,’ एक सहसचिवले नेपालखबरसँग भने, ‘सय बुँदे सरकारको सूचीमै केन्द्रित रहेर सबै मन्त्रालयले आफूले गरेको कामको प्रगति विवरण बेलुका मन्त्रिपरिषद् कार्यालयमा रिपोर्टिङ गर्नुपर्ने पत्राचार भएपछि त्यसको कार्यान्वयन हुन थालेको छ।’
फोकल पर्सन तोकिएका सहसचिवले हरेक दिन कार्यालय समय सकिनुअघि विवरण तयार गर्न थालेका छन्। ‘प्रत्येक दिन के के काम भयो, त्यसबारे फोकल पर्सन तोकिनु भएका सहसचिवले बेलुका कार्यालय समयभित्र प्रधानमन्त्री कार्यालयमा रिपोर्टिङ गर्नुहुन्छ,’ ती सहसचिवले थपे।
प्रधानमन्त्रीले ‘टास्क’ नै तोकेर पत्राचार गरेपछि मन्त्रीहरू काम देखाउन सक्रिय भएका छन्। केही मन्त्री त कार्यालय समय अगावै सिंहदरबार पुग्न थालेको कर्मचारी बताउँछन्।
प्रधानमन्त्रीको निर्देशनले मन्त्रीहरू पनि दबाबमा परेका छन्। उनीहरू कामको गति बढाउन मातहतका कर्मचारीसँग आग्रह गर्न थालेका छन्।
‘मेरो मन्त्री पद जोगाउने हो भने तपाईँहरूले प्रधानमन्त्री कार्यालयको पत्र अनुसार दैनिक कामको गति बढाइदिनुपर्यो, भनेर मन्त्रीज्यूले भन्नुभएको छ,’ ती सहसचिवले सुनाए।
मन्त्रीहरूले कामलाई गति दिनका लागि विज्ञ सांसदहरूको सहयोग लिन थालेका छन्।
Shares

प्रतिक्रिया