नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको एउटा स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताएका छन्।
निर्वाचनको नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उनले यस प्रक्रियालाई नकारात्मक ढंगले नहेर्न आग्रह गरेका हुन्। सांसद नेम्वाङले संसदभित्र सत्तापक्ष वा प्रतिपक्षको साँघुरो घेराभन्दा माथि उठेर जनता र देशको हितमा काम गर्नुपर्नेमा जोड दिए।
उनले सरकारका राम्रा कामलाई सहयोग गर्ने र कमजोरीहरूलाई रचनात्मक आलोचना र सुझावका साथ खबरदारी गर्ने आफ्नो नीति रहने स्पष्ट पारे।
युवा पुस्ता र पार्टीका शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै यो आफ्नो पहिलो पाइला मात्र भएको र देश तथा जनताको हितमा निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गरे।
उनले भने, ‘हामीले पार्टीभित्र रहिसकेपछि दलको नेता चयन गर्ने बेलामा लोकतान्त्रिक अभ्यासलाई अवलम्वन गर्ने प्रयास गरेका हौँ। यहाँ कुनैपनि दबाब भएको छैन। नतिजा मैले अपेक्षा गरेअनुसार नभए पनि अर्को उम्मेदवारलाई बढी योग्य ठानेर यो परिणाम आएको हुन सक्छ, जसलाई हामीले स्वीकार्नुपर्छ। आजको नतिजाले नेकपा एमालेभित्र रहेका कमजोरीहरूलाई सुधार्दै आत्मसमीक्षा र आत्मालोचना गर्ने अवसर दिएको छ। यसले भविष्यमा पार्टीलाई अझ सुदृढ बनाउनेछ।’
एमालेले देशलाई समृद्धितर्फ लैजाने र जनताका मुद्दाहरू सधैँ उठाइरहने कुरामा आफू पूर्ण विश्वस्त रहेको पनि उनले बताए।
Shares

प्रतिक्रिया