राजनीति


नेकपा धुलो टक्टकाएर फेरि उठ्ने छ: वर्षमान पुन

नेकपा धुलो टक्टकाएर फेरि उठ्ने छ: वर्षमान पुन

नेपालखबर
चैत ६, २०८२ शुक्रबार ९:१८, काभ्रे

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन (अनन्त)ले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट  बिचलित नहुन पार्टीका नेताकार्यकतालाई आग्रह गरेका छन् । 

काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा आयोजित कार्यक्रममा पुनले नेकपा धुलो टक्टकाएर अघि बढ्ने बताए। 

त्यसक्रममा उनले सहिदको प्रतीमा अनावरण गर्नुका साथै सहिद परिवारलाई सम्मान गरेका थिए। 

‘विचार, राजनीति, संगठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनःमूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्छौँ,’ उनले भने, ‘जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने छ।  कुनै दिन फेरि मुलुकको नेतृत्व हामी गर्नेछौँ।’

आफूहरु रुपान्तरण र सुशासनको एजेण्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले नेकपालाई पनि पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएका उनको भनाई थियो।

‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरुमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं। त्यसैगरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंश गर्नेको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं। तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो।  हामी पुरानो हौं, तर उस्तै खालका पुराना होइनौं। हामीले अवस्था बदल्न कोसिस गरेकै हौं। फेरि जनतामा जान्छौं’, पुनले भने, ‘कुनै अहंकार, विचलन, निराशा होइन, शहीदहरुको बलिदानलाई आत्मसात गर्दै नयाँ ढंगले धुलो टक्टकाएर उठ्ने संकल्प गर्नुपर्छ।’

१० वर्षे जनयुद्धका बेला पनि धेरैपटक ठूलठूला बलिदान, क्षति र हार भए पनि नेतृत्वले हार नमानेको उनले बताए। 

‘त्यतिबला पनि हामीले हार मानेनौं । हाम्रो अहिलेसम्मको विचार, राजनीति, संगठन, नेतृत्व, शैली, तौरतरिकाहरुलाई एकपटक ठण्डा दिमागले पुर्नमूल्याँकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ,’ उनले भने। 

जनताले निर्वाचनमार्फत नयाँ भनिएका दलहरुलाई अभिमत प्रकट गरेर पुराना दल तथा नेतृत्वमाथि आफ्नो कार्यशैली तथा तौरतरिका बदल्न खबरदारी गरेका पुनको भनाई थियो। 

पुनले जनताले गरेको खदरदारीलाई सच्चिनका लागि दिएको अवसरका रुपमा ग्रहण गर्नुपर्ने बताए। 

‘विचार, राजनीति, इतिहास केही नहुनेहरुले पनि आज आफूलाई नयाँ पार्टी दाबी गरेर झण्डै दुई तिहाई प्राप्त गरेका छन्। जनताले उनीहरुलाई विश्वास गरेका छन्। जनताको अभिमतलाई हामीले स्वीकार्नुपर्छ,’ उलने भने, ‘अर्कोतिर जनताले हामीलाई सच्चिनका लागि घच्घच्याएकोलाई हामीले राम्रो अवसरका रुपमा लिनुपर्छ।’

कुनै बेला देशभर जम्मा ६० जना पूर्णकालिन कार्यकर्ता लिएर प्रचण्डले जनयुद्धको नेतृत्व थालेको स्मरण गर्दै उनले धेरै मानिसले जनयुद्धबाट परिवर्तन गर्छौैं भन्दा उतिबेला मुर्खता ठानेको उनले बताए। 

त्यही जनयुद्धले गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षताजस्ता उपलब्धी हासिल भएका भन्दै उनले ६० जनाले थालेको जनयुद्धमा हजारौं किसान, मजदुर, बुद्धिजिबी र आमजनताले समर्थन गरेर ठूलो रुप लिएको र परिवर्तन सम्भव भएको उनको भनाई थियो। 

आफ्ना संयोजक प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले १८ महिना भ्रष्टाचारविरुद्ध सशक्त रुपमा सुशासन अभियान चलाएको र सोही अभियान समातेर जेनजी नवयुवाहरुले २३ भदौमा आन्दोलन गरेको दाबी पुनले गरे। 

प्रचण्ड नेतृत्वको सरकार ढालेर सत्तामा पुगेका काँग्रेस र एमाले सम्मिलत सरकारको कूशासनविरुद्ध पटकपटक खबरदारी गर्दा पनि सुनुवाई नभएको गुनासो उनले गरे। 

‘सोही कारण २३ र २४ भदौको घटना भयो,’ उनले भने, ‘देश कता जाँदैछ, जनता कता जाँदैछन् भन्ने हामीले थाहै नपाएको अवस्था होइन। बंगलादेश श्रीलंका जस्तो विस्फोट हुँदैछ भनेर तत्कालीन सत्तारुढ दलहरुलाई सडक र सदनबाट सचेत गरायौं। तर, सुनुवाई भएन। जेनजी विद्रोहको रुपमा जनभावना विस्फोट भयो। ’

निर्वाचनमार्फत झण्डै दुई तिहाई जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुशासन, समानता तथा रोजगारीको अभियान चलाउन तथा सन्तुलित कूटनीतिक सम्बन्धमार्फत मुलुकको अस्तित्व र स्वाधीनता बलियो बनाउने काममा  लाग्न सुझाव दिँदै पुनले ती काममा आफ्नो पार्टीको साथ रहने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad