नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभाको निर्वाचनमा भोगेको पराजयपछि अरुलाई कारबाही गर्ने नेतृत्वसँग ‘नैतिक आधार’ नरहेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभामा एमालेको पराजयपछि नेतृत्व छोड्न अध्यक्ष केपी शर्मा ओलीलाई नेता तथा कार्यकर्ताले दबाब दिइरहेका छन्। सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट बोलिरहेका नेता तथा कार्यकर्तालाई ओली निकट नेताहरूले कारबाही गर्ने चेतनावी दिएका छन्।
यस्तोमा एमाले नेता पाण्डेले नेतृत्वसँग कारबाही गर्ने ‘नैतिक आधार’बारे प्रश्न गरेका हुन्। ‘जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला?,’ पाण्डेले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ?’
उनले एमालेको संचना र कार्यशैली फेर्नुपर्ने बेला आएको औँल्याएका छन्। ‘नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आइसकेको छ,’ पाण्डेले भनेका छन्, ‘यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो।’
कसैले कसैलाई नफसाएको उनको जिकिर गरेका छन्। चुनावी नतिजाले नेता तथा कार्यकर्ताले मत यतउता गरेको नदेखिने उनको भनाइ छ। ‘मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला तर अन्तर्घातले ५-१० हजार मत तलमाथि होला। देखिएको ४०–५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो,’ पाण्डेले भनेका छन्।
अब एमालेले अरु पार्टी असफल होलान र हाम्रो पालो आउला भनेर कुर्न नहुने उनको तर्क छ। एमालेको सञ्चालनको पद्धति र हटलाई जनताले पूर्ण रुपमा अस्वीकार गरेको उनले जिकिर गरेका छन्।
‘यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा रिजेक्ट गरेको सन्देश हो,’ पाण्डेले भनेका छन्, ‘अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यौँ भने त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ।’
Shares

प्रतिक्रिया