सर्लाही क्षेत्र नम्बर ३ बाट पराजित नेकपाका नेता नारायणकाजी श्रेष्ठले अब फरक ढंगले अघि बढ्ने बताएका छन्।
आफ्नै पुराना सहकर्मीसँग फराकिलो मतान्तरले पराजित भएपछि उनले चुनाव हारे पनि क्रान्तिकारी संघर्षलाई अघि बढाउन एकताबद्ध भई दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै निर्वाचनमा विजयी हुने रास्वपाका उम्मेदवारलाई बधाई दिएका छन्।
निर्वाचन आयोगका अनुसार सर्लाही ३ बाट श्रेष्ठलाई पराजित गर्दै रास्वपाका नरेन्द्र साह कलवार विजयी भएका छन्।
साह ४६ हजार ८९० मत पाएर निर्वाचित हुँदा श्रेष्ठले १३ हजार ३३८ मत पाएका छन्।
निर्वाचनमा श्रेष्ठलाई पराजित गर्ने कलवार नेकपाकै पूर्व नेता हुन्। उनी यसपटक नेकपाले टिकट नदिने भएपछि मनोनयनको अघिल्लो दिन मात्रै रास्वपामा प्रवेश गरेका थिए।
०७९ सालको निर्वाचनमा सर्लाहीबाट एमालेका हरि उप्रेती विजयी हुँदा तत्कालीन माओवादी केन्द्रबाट कलवार थोरै मतले पराजित बनेका थिए।
अहिले उनैले आफ्ना पुराना सहकर्मीलाई पराजित गरेका हुन्।
‘सर्लाही ३ का आदरणीय मतदाताले दिनुभएको जनादेशलाई स्वीकार गर्दै विजयी हुनुभएका श्री नरेन्द्र साह कलवारजीलाई बधाई ज्ञापन गर्दै शुभकामना प्रकट गर्दछु,’ पराजयपछि श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय मतदाताहरु, जसले हाम्रो पार्टी र मलाई मतदान गर्नुभयो र जसले मतदानमा भाग लिनु भयो, सबैलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु।’
उनले निर्वाचनमा आफूलाई विभिन्न रुपमा सहयोग गर्ने, शुभकामना दिने सबै मित्र तथा शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन्।
‘हाम्रो पार्टीका कार्यकर्ताहरू जसले भोकभोकै दिन रात नभनी खट्नुभयो, ती सबै प्रिय कमरेडहरुप्रति सप्रेम साख्यभाव सहित क्रान्तिकारी अभिनन्दन गर्दछु र सहस्र धन्यवाद अर्पण गर्दछु। संकल्प गरौं, आगामी दिनमा हामी क्रान्तिकारी पार्टी निर्माणलाई नयाँ ढंगबाट अघि बढाउन र देश, जनता र श्रमजीवी वर्गको पक्षमा क्रान्तिकारी संघर्षलाई अघि बढाउन एकताबद्ध भई दृढतापूर्वक अघि बढ्नेछौं,’ श्रेष्ठले भनेका छन्।
उनले आफ्ना लागि निर्वाचन कुनै पद प्राप्त गर्न वा कुनै व्यक्तिगत स्वार्थका लागि नभएको बताएका छन्।
‘विजयी हुँदा वैधानिक जिम्मेवारीसहित देश र जनताको निम्ति संसदीय वा सरकारको मोर्चाबाट काम गरिन्थ्यो भने अहिलेको परिस्थितिमा फरक मोर्चाबाट देश र जनताको पक्षमा निरन्तर क्रियाशील भइरहनेछु,’ श्रेष्ठले भनेका छन्, ‘सर्लाहीका जनताले वैधानिक रुपमा प्रत्यक्ष प्रतिनिधित्वको जिम्मेवारी सुम्पिएको अवस्थामा कम्तीमा २ महिनामा एकपटक सर्लाहीमा जनताका बीचमा आउने प्रतिबद्धता जनाएकोमा अब त्यो भूमिकामा नभए पनि सर्लाही जिल्ला र जनतासँग निरन्तर सम्पर्कमा रहने विश्वास दिलाउन चाहन्छु।’
उनले अगाडि भनेका छन्, ‘राजनीतिक जीवनको खुला पानाले स्पष्ट पारेकै छ, म राष्ट्रिय स्वाधिनता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय सहितको समृद्धि र समाजवादको पक्षमा समर्पित भएर निरन्तर संघर्षरत रहनेछु। साथसाथै सर्लाहीका जनताको हक अधिकार र विकासको पक्षमा पनि सर्लाहीका जनतासँग मिलेर कार्यरत रहिरहनेछु।’

Shares

प्रतिक्रिया