राजनीति


२५ वर्षीय प्रशान्तले भत्काए कम्युनिस्टको ३६ बर्से ‘गढ’

बालेन काठमाडौँको मेयर हुँदा उनको सचिवालयमा आइटी हेर्थे प्रशान्त उप्रेती
२५ वर्षीय प्रशान्तले भत्काए कम्युनिस्टको ३६ बर्से ‘गढ’

सुनिता विष्ट
फागुन २४, २०८२ आइतबार ७:१९, हेटाैँडा

मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका महेशकुमार बर्तौलाई ११ हजार २०४ मतान्तरले पराजित गरेका हुन्।

उप्रेतीले ३० हजार ५०  मत प्राप्त गर्दा बर्तौलाले १८ हजार ८४६ मत मात्रै पाए। बर्ताैला यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थए।

यस्तै, पहिलो पटकमै जित निकाल्ने दाउमा उम्मेदवार बनेका नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गर्दै तेस्रो भएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर विष्टले १२ हजार ४९२ मत प्राप्त गरे। यो क्षेत्रमा ९१ हजार २४१ मत खसेको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए। 

३६ वर्षपछि ढल्यो कम्युनिस्टको महागढ
रास्वपाको विजयसँगै यहाँ ३६ वर्षपछि कम्युनिस्टको महागढ भत्किएको छ। २०४६ पछिका निर्वाचनहरुमा यो क्षेत्रमा सधैँ नेकपा एमाले नै विजयी हुँदै आएको थियो।

जनआन्दोलन २०४६ बाट प्रजातन्त्र पुनःस्थापना भएपश्चातका सबै निर्वाचन कम्युनिस्टले मात्रै जितेका छन्। २०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आमनिर्वाचनमा जिल्लामा तीनवटा निर्वाचन क्षेत्र थिए। जसमध्ये २ र ३ नम्बर क्षेत्र हालको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्छ ।

२०४८ सालको आमनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई हराउँदै तत्कालीन २ नम्बर क्षेत्रबाट विरोध खतिवडा र ३ नम्बर क्षेत्रबाट हिरण्यलाल श्रेष्ठ विजयी भए।

२०५१ कात्तिक २९ मा भएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचनमा पनि २ नम्बर क्षेत्रबाट खतिवडा र श्रेष्ठ नै विजयी भए। २०५६ को आमनिर्वाचनमा २ नम्बर क्षेत्रबाट उनै खतिवडा विजयी भए भने ३ नम्बर क्षेत्रबाट स्वर्गीय बिरबहादुर लामा निर्वाचित भएका थिए। तीनै जना एमालेका हुन्।

२०६४ सालको संविधानसभा निर्वाचनमा भने जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भए। तत्कालीन २ र ४ नम्बर क्षेत्र हालको प्रतिनिधिसभा क्षेत्र नम्बर २ भित्र थिए। २०६४ मा २ नम्बर क्षेत्रबाट प्रेमबहादुर पुलामी र ४ नम्बर क्षेत्रबाट कुमारी मोक्तान विजयी भएका थिए। यी दुईजना तत्कालिन माओवादीका थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा सुभाषचन्द्र ठकुरी र ४ नम्बर क्षेत्रबाट राजाराम स्याङतान निर्वाचित भएका थिए। ठकुरी र स्याङतान एमालेका उम्मेदवार थिए। 

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका विरोध खतिवडा विजयी भए। २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट बर्तौला विजयी भएका थिए। त्कालिन सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्दैै विजयी भएका बर्तौला यो पटक दोस्रो हुन पुगेका छन्। बर्तौलाको हारसँगै मकवानपुर–२ मा कम्युनिष्टको गढ भत्किएको छ। 

बन्नेछन् सदनकै कान्छो सांसद
उनी सदनकै कान्छो सांसदको रुपमा रहनेछन्। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौँको मेयर हुँदा प्रशान्त उनको सचिवालयमा आइटी हेर्ने काम गर्थे। बालेन निकटका उनी भर्खर २५ बर्षका भए।

काठामाडौँमै होटल तथा पर्यटन व्यवसाय गर्दै आएका उनी रास्वपाले टिकट थमाएपछि मकवानपुर फर्किएका थिए। 

मकवानपुरका लागि नयाँ अनुहार भएपनि मतदाताले उनलाई रुचाएका छन्। उनले टिकट पाएपछि रास्वपा मकवानपुरका सभापति भरतप्रसाद पराजुलीले पार्टी परित्याग गरी कांग्रेस फर्किएका थिए। पराजुलीको बर्हिगमनले उप्रेतीलाई धक्का लाग्ने चर्चा भैरहेको थियो।

तर, यस क्षेत्रमा पर्ने सहरी भू–भाग जस्तैः हेटौँडा उपमहानगरपालिकाको ४ वटा वडा, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडाको मतले उप्रेतीलाई सुरक्षित गर्यो। 

जिल्लाको विकट राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाबाट भने एमाले, कांग्रेस, रास्वपा र नेकपाले बरारबर जस्तै मत प्राप्त गरेका थिए। ९१ हजार  २४१ खसेको थियो 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad