राजनीति


रविको जादु चल्दा कस्तो होला बागमतीका १० जिल्लाका १८ क्षेत्रको चुनावी नतिजा

भिडलाई मतमा रुपान्तरण गर्ने प्रयासमा रास्वपा
रविको जादु चल्दा कस्तो होला बागमतीका १० जिल्लाका १८ क्षेत्रको चुनावी नतिजा

सागर न्यौपाने
फागुन ४, २०८२ सोमबार ७:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा सम्बोधन गर्दै यसपटक संसद्‌मा जादु गर्ने बताए। 

‘देशमा इतिहास रच्ने हो,’ उनले भने, ‘यसपटक संसद्‌‌मा जादु गर्ने हो जादु।’

त्यसका लागि जनताले फागुन २१ गते मतपत्रमा जादु गर्नुपर्ने उनले बताए। 

रविले तम्घास पुगेर यसो भनिरहँदा रास्वपा बागमतीका कार्यकर्ता भने यही प्रदेशमा कसरी जादु चलाउने भनेर रणनीति बनाइरहेका छन्। त्यसका लागि उनीहरू रविलाई नै कुरेर बसेका छन्– कांग्रेस, एमाले र नेकपाका शीर्ष नेता राजधानी काठमाडौँ वा बागमती प्रदेशबाट नै बाहिरिँद उनी चितवन २ बाट उम्मेदवार छन्।

बालेन शाहले देशव्यापी घण्टी अभियान चलाएर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल ल्याइरहेको बेला सभापति लामिछाने भने गृह प्रदेश बागमतीमै केन्द्रित भएर चुनावी अभियान थाल्दैछन्।

काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा रास्वपाको माहोल अझै राम्रो नबनेको अवस्थामा बालेनले ल्याएको देशव्यापी लहर र लामिछानेको अभियानले बागमतीका अन्य १० जिल्लाका १८ क्षेत्रमा जादु चल्ने आकलन यो पार्टीका उम्मेदवारहरूले गरेका छन्। 

राजधानीका काठमाडौँ, ललितपुर र भक्तपुरलाई छोड्ने हो भने बागमती प्रदेशका १० जिल्लामा १८ निर्वाचन क्षेत्र छन्। चितवनमा ३, मकवानपुर, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेमा २–२ वटा निर्वाचन क्षेत्र छन् भने दोलखा, रामेछाप र रसुवामा १–१।

२०७९ मा भएको प्रतिनिधि सभाको चुनावमा १८ क्षेत्रमध्ये रामेछाप, सिन्धुली १, रसुवा, नुवाकोट २, धादिङ २ र सिन्धुपाल्चोक २ गरी ६ वटा सिट जितेर कांग्रेस पहिलो दल बनेको थियो। उसलाई माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनको साथ थियो।

नेकपा एमालेले मकवानपुर २ र काभ्रे २ जितेको थियो।

उता तत्कालीन माओवादी केन्द्रले सिन्धुली २, दोलखा, काभ्रे १, नुवाकोट १, सिन्धुपाल्चोक १ जितेको थियो। यस्तै, नेकपा एकीकृत समाजवादीले धादिङ १ जितेको थियो। अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लगायतबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ र २ जित्दा राप्रपाले चितवन ३ र मकवानपुर १ जितेको थियो। बागमती प्रदेशका यी १० जिल्लामा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो।

१८ क्षेत्रको नयाँ हिसाब–किताब
यी १० जिल्लामा अहिले नयाँ थपिएका समेत गर्दा २४ लाख ९१ हजार ३२३ मतदाता छन्। त्यति मात्र होइन, कांग्रेस नयाँ नेतृत्व चुनेर चुनावमा गएको छ। नेकपाले एकीकृत समाजवादीलगायतसँग एकता गरेको छ।

यस्तै, काठमाडौँ महानगरमा सबै दललाई चकित पार्दै मेयर निर्वाचित भएका बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा चुनावमा होमिएको छ। बालेन्द्रले देशव्यापी चुनावी रोड सो गरिरहेका छन्। बागमतीका केही क्षेत्रमा पनि उनी पुगेका छन्। 

यसपटक कुनै दलबीच गठबन्धन छैन। त्यसो हुँदा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। 

यी दलहरूले जित्ने क्षेत्रबारे आन्तरिक सर्वेक्षण पनि गरिसकेका छन्। कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ समानुपातिक र प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बन्ने दाबी गर्छन्। 

‘स्थानीय तहको निर्वाचन, प्रदेशमा जितेको सिट र अहिले बदलिएको कांग्रेस भएर चुनावमा होमिएकोले बागमतीमा हाम्रो पार्टी पहिलो दल बन्छ,’ बागमतीका मुख्यमन्त्री समेत रहेका बानियाँले नेपालखबरसँग भने, ‘अन्य पार्टीभन्दा दोब्बर संख्यामा प्रत्यक्ष सांसद जिताउँछौँ। हाम्रो पार्टी गुगलमा होइन, भूगोलमा छ।’

तीन वर्षअघिको चुनावमा समानुपातिकतर्फ अधिकांश क्षेत्रमा पहिलो दल बनेको एमालेले पनि यसपटकको चुनावको प्रारम्भिक सर्वे गरेको छ। एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले १८ क्षेत्रलाई तीन श्रेणीमा विभाजन गरिएको बताए।

जित्ने अधिक सम्भावना रहेकोलाई क श्रेणी, प्रतिस्पर्धामा आउनेलाई ख श्रेणी र धेरै मेहनत गर्नुपर्नेलाई ग श्रेणीमा वर्गीकरण गरिएको उनको भनाइ छ। उनका अनुसार रामेछाप, दोलखासहित मकवानपुर, काभ्रे र सिन्धुलीको एकएक क्षेत्र एमालेको जित्ने सूची अर्थात् क श्रेणीमा छ। 

‘पार्टीको संगठन, विगतमा समानुपातिकमा पाएको मत, पार्टीको गतिविधि, विभिन्न आधारमा हेर्दा ११ वटा क्षेत्र ‘क’ श्रेणी छ,’ उनले भने, ‘४ वटा ‘ख’ श्रेणीमा र बाँकी ३ वटा क्षेत्र ‘ग’ मा रहेको रिपोर्ट छ।’

नुवाकोट र धादिङका चार क्षेत्र एमालेले तीव्र प्रतिस्पर्धा हुनेमा राखेको देखिन्छ। तर, चितवनको दुई वटा क्षेत्र एमालेको जित्ने सूचीमा पारेको छैन। 

नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, धादिङ र मकवानपुरका एकएक क्षेत्र जित्ने दाबी गरेको छ। नेकपाका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले रास्वपा वैकल्पिक शक्ति होइन भन्ने कुरा आम मतदातामा परेकोले त्यसको फाइदा आफ्ना उम्मेदवारले पाउने बताए।

‘हामीले दिएका उम्मेदवार युवा हो, यसकारण माहोल राम्रो छ, यसलाई यथार्थमा बदल्छौँ,’ सरलले भने, ‘यी १० जिल्लाका १८ मा ८ क्षेत्र आउन सक्छ।’

उता बालेन शाहको उपस्थितिले हौसिएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल देशभरको माहोलले बागमती प्रदेशमा प्रभाव पर्ने बताउँछिन्। रास्वपा सभापति रवि लामिछानेले बागमती प्रदेशमै केन्द्रित भएर चुनावी अभियान थाल्दैछन्। 

‘चितवनको ३ वटै क्षेत्र जित्छौँ, धादिङ लगायत अन्य केही क्षेत्र हामीले जित्ने सूचीमा राखेका छौँ,’ रावलले भनिन्, ‘अब सभापतिले बागमती प्रदेशकै जिल्लामा केन्द्रित भएर अभियान थालेपछि सबैतिर राम्रो हुनेमा विश्वस्त छौँ।’

विभिन्न दलबाट रास्वपाको संगठन आधार नभएको र बाहिर भिड मात्र रहेको प्रचार भइरहेको छ। यही बेला रास्वपा चुनाव जित्ने रणनीति बनाएर मतदातासम्म पुगिसकेको छ। समर्थकको भिडलाई मतमा बदल्न मेहनत गरेको रावलको भनाइ छ।

‘हामीले भिड मात्र हेरेका छैनौँ, आन्तरिक मेहनत राम्रो गरेका छौँ,’ रावलले थपिन्।

पछिल्ला दिन निर्वाचनबारे खोज अनुसन्धान गरिरहेका राष्ट्रिय सभाका पूर्वसचिव तथा राजनीतिक विश्लेषक राजेन्द्र फुयाल यसपटकको चुनावी परिणामबारे आकलन गर्न गाह्रो हुने बताउँछन्। 

‘बाहिर देखिएको वेभ भोटमा रुपान्तरण हुन्छ कि हुँदैन, अहिले मान्छेको माथिंगलमा के छ भन्न कठिन छ,’ फुयालले भने, ‘एउटै परिवारभित्रको मत एकैठाउँमा पर्ने सम्भावना कम छ।’

गगन थापालाई सभापति बनाएर चुनावमा गएकोले कांग्रेसले यसपटक ठूलो क्षति नबेहोर्ने, बरु सांगठनिक मतमै भर परेको एमालेलाई ज्यादा क्षति हुने विश्लेषकहरूको भनाइ छ।

‘यसपटक सांगठनिक मत अघिल्ला चुनावमा जस्तो स्थिर रहने देखिँदैन,’ फुयालले भने, ‘चुनावी क्षेत्र अनुसार भन्न सकिँदैन। किनकि, मेजर भेरियबल्स खलबल भएको छ।’

कांग्रेस र एमालेको सांगठनिक आधार खलबलिएको र रास्वपाले बनाउन नसकेकोले चुनावी परिणाम अनुमान गर्न कठिन भएको उनको भनाइ छ।

‘निर्वाचनअगाडिका गतिविधिले कति प्रभावित पार्छ, अन्तिममा कुन दलले कस्तो मेसेज दिन्छन्, मौनअवधि सुरु हुनुअघि त्यसले सिर्जना गर्ने तरङ्ग निर्णायक हुन्छ,’ फुयाल भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad