राष्ट्रियसभाकी सदस्य रामकुमारी झाँक्रीले नेपाल बाहिर रहेका नेपालीहरुको सन्दर्भमा व्यक्त गरेको अभिव्यक्तिप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल सरकारको पूर्वमन्त्री समेत रहेकी झाँक्रीले देशबाहिर रहेका समस्त नेपालीको मानमर्दन गर्ने कार्य गरेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले जनाएको छ।
‘गैर आवासीय नेपाली सदैव नेपालको विकास र समृद्धिको सहयात्री रहँदै आएको अवस्था बीच नेपालको नीति नियम तर्जुमा गर्ने निकाय राष्ट्रिय सभाको सदस्यबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको हाम्रो ठम्याइ छ’, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले भनेका छन्, ‘गैरआवासीय नेपाली नागरिकताको व्यवस्थाबीच पर्याप्त ऐन, नियम र नियमावली अभावले व्यावहारिक समस्या देखा परिरहेको सन्दर्भमा नीति नियम बनाउने राष्ट्रिय सभाकै एक सदस्यको यस्तो अभिव्यक्ति आउनुले संशय झन् बढाएको छ।’
झाँक्रीको यस्तो आपत्तिजनक अभिव्यक्तिप्रति उनी आबद्ध दलको पनि ध्यानाकर्षण गराइएको छ। ‘विश्वभर छरिएर बसेका गैरआवासीय नेपालीहरूले नेपालको अर्थतन्त्र सुदृढीकरण, विकास निर्माण, आपतकालीन सहयोग, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा निरन्तर, उल्लेखनीय र ऐतिहासिक योगदान दिँदै आएको तथ्यलाई पनि पुनः सूचित गराउन चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘माननीय झाँक्री ज्यूको उक्त अभिव्यक्तिको कडा खण्डन गर्दै सार्वजनिक पदमा आसीन व्यक्तिहरूले गैरआवासीय नेपाली समुदायप्रति सम्मानजनक, जिम्मेवार तथा तथ्यमा आधारित धारणा व्यक्त गर्न पनि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका हार्दिक आग्रह गर्दछ।’
नेपालको हित, नेपालीहरूको अधिकार तथा राष्ट्रिय एकताको पक्षमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् ,अमेरिका सदैव दृढ रूपमा उभिएको र गैरआवासीय नेपाली समुदायको सम्मान, पहिचान तथा अधिकारविरुद्ध हुने कुनै पनि अभिव्यक्ति र गतिविधिको निरन्तर विरोध गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ।
Shares

प्रतिक्रिया