नेपालस्थित अमेरिकी दूतावासले आधिकारिक रूपमा 'फ्रिडम २५०' अभियानको शुभारम्भ गरेको छ। यस अभियानले अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा स्वतन्त्रता, नवप्रवर्तन र सिर्जनशीलताका दिगो सिद्धान्त थिममा कार्यक्रमहरू गर्नेछ।
'फ्रिडम २५०' थिम अन्तर्गत नेपालमा हुने कार्यक्रमहरूको नेतृत्व नेपाल-यूएस अलुम्नाई नेटवर्क (नुसान)ले पाएको छ। लोकतान्त्रिक आदर्श, नवप्रवर्तन र सिर्जनशीलताका विषय नेपाली जनतासम्म पुर्याउन नुसानले कार्यक्रम गर्नेछ।
अभियानको औपचारिक सुरुवात गर्ने उद्देश्यले अमेरिकी दूतावासका चार्ज-डे अफेर्स स्कट उर्बोमले काठमाडौंस्थित अमेरिकी केन्द्रमा नुसानका सदस्यहरूसँग भेटघाट गरेका छन्। उर्बोमले दूतावासको तर्फबाट आधिकारिक रूपमा 'फ्रिडम' २५०' कार्यक्रम सुभारम्भ गरे।
चार्ज-डे अफेर्स उर्बोमले अमेरिकी इतिहासका महत्त्वपूर्ण चरण र दुई देशबीचको साझा भविष्यबारेमा चर्चा गरेका थिए। 'हामी विगतको उत्सव मनाउँदै, वर्तमानसँग जोडिएर एउटा साझा भविष्यतर्फ हेरिरहेका छौं,' उनले भने।
कुन मितिमा कहाँ के गर्ने भन्ने विषयमा नुसानले आन्तरिक तयारी सुरु गरेको छ।
के-के हुनेछन् कार्यक्रम?
नुसानले वर्षभरि नै सांस्कृतिक, शैक्षिक र अरू विषयगत कार्यक्रमको शृङ्खला सञ्चालन गर्नेछ। मुख्य विषय यी हुनेछन्:
(क) ऐतिहासिक मन्थन: अमेरिकी स्वतन्त्रता संग्राम र लोकतन्त्रका २५० वर्षका महत्त्वपूर्ण उतार चढावका पक्षमा छलफल गरिनेछ।
(ख) सीप र सिर्जना: नवप्रवर्तन र सिर्जनशीलता केन्द्रित कार्यशाला सञ्चालन गरिनेछन्।
(ग) शैक्षिक र सांस्कृतिक सम्वाद: नेपालका चार वटा 'अमेरिकी स्पेस' र तीन प्रदेशमा स्थानीय साझेदारसँग संस्थासँग मिलेर विविध सांस्कृतिक प्रस्तुति र शैक्षिक संवाद गरिनेछ।
नुसान, अमेरिकामा अध्ययन गरेर वा विभिन्न कार्यक्रममा सहभागी भई फर्केका नेपालीको सञ्जाल हो। दूतावासले यस उत्सवमा सहभागी हुन र दुई देशको साझा भविष्यको यात्रामा जोडिन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया