जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादवले तराई-मधेसका २२ जिल्लाको प्रदेश बनाउन संघर्ष जारी रहेको बताएका छन्।
आइतबार सप्तरीको राजगढ गाउँपालिका-४, बेल्ही चपेनामा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आठ जिल्लाको मधेस प्रदेश बनेको भए पनि २२ जिल्लाको एउटै प्रदेश बनाउने संघर्ष यथावत रहेको बताएका हुन्। ‘देशमै पहिचानमा आधारित प्रदेश मधेश मात्र हो, अब २२ जिल्लाको मधेश निर्माण गर्नका लागि जसपा नेपाल बलियो शक्ति भएर उदाउनु जरुरी छ,’ यादवले भने।
उनले सीमान्तकृत, वहिष्कृत, शोषित, अपमानित, पछाडि पारिएका समुदायको अधिकार, पहिचान, शासन सत्ता, शक्ति, स्रोतसाधनमा अवसर न्याय र समानताका लागि नै मधेस विद्रोह भएको उनको भनाइ थियो। मधेश विद्रोहकै कारण राज्यका अंगमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको बताउँदै यादवले भने, ‘नेपालको जस्तो महिलाको भागिदारी चीन, अमेरिका, जापान, बेलायतमा समेत छैन, यी सबै परिवर्तन जनविद्रोहबाटै सम्भव भएको हो।’
सङ्घीयता विरोधी शक्तिहरूले मधेसी, महिला, दलित, आदिवासी, जनजाति, थारूलगायत पछाडि पारिएका समुदायले प्राप्त गरेको अवसर र प्रतिनिधित्व खोस्नका लागि उद्धत रहेको उनको आरोप थियो। प्रदेशलाई अधिकारै नदिएर काम गर्न नसकेको, खर्चिलो भयो जस्ता गलत भाष्य निर्माण भइरहेकोले त्यस्ता भ्रममा नपर्न उनले आग्रह गरे।
‘कांग्रेस कम्युनिस्टले मधेसीलगायत शोषित उत्पीडित जनताको हक अधिकार, पहिचान र सम्मान नदिँदा हामीले मधेस विद्रोहबाट परिवर्तन ल्याउन बाध्य पा¥यौँ, प्राप्त अधिकारको रक्षा गर्दै बाँकी अधिकारका लागि सङ्घर्ष गर्न आमजनताले प्रतिनिधि सभामा मजबुत शक्ति बनाएर पठाउनु आवश्यक छ,’ उनले भने।
उनी सप्तरी-३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदावर बनेका छन्।
Shares

प्रतिक्रिया