राजनीति


पार्टी छाड्ने १३ नेताले आहुतिलाई लगाएका ४ आरोप: चरम आर्थिक अपारदर्शितादेखि क्रान्ति फेसबुकमा सीमितसम्म

पार्टी छाड्ने १३ नेताले आहुतिलाई लगाएका ४ आरोप: चरम आर्थिक अपारदर्शितादेखि क्रान्ति फेसबुकमा सीमितसम्म

फाइल तस्बिर: धनकुमारी सुनार र आहुति


नेपालखबर
माघ १७, २०८२ शनिबार १४:६, काठमाडौँ

विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी परित्याग गरेका १३ नेताले नेतृत्वविरुद्ध ४ आरोप लगाएका छन्। 

वैज्ञानिक समाजवादी पार्टीका केन्द्रदेखि जिल्ला तहसम्मका १३ नेताले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी पार्टी छाडेको घोषणा गरेका हुन्। 

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनार, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूरपश्चिम प्रदेश संयोजक यशोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनार, महिला संगठन जिल्ला सदस्य तुलसी परियार, विद्यार्थी प्रदेश संगठन सदस्य प्रिया बराल, महिला संगठन कञ्चनपुर जिल्ला सदस्य दीपा राना, कञ्चनपुर जिल्ला महिला संगठन सदस्य हेमा सुनार, महिला संगठन जिल्ला सदस्य संगीता सिजापति, जात व्यवस्था उन्मूलन मोर्चा सदस्य सुमित्रा खाती, महिला संगठन सदस्य शर्मिला जिआर, कैलाली जिल्ला महिला संगठन सदस्य कमला बिसी र कञ्चनपुर जिल्ला महिला सगठन संयोजक रीता नेपालीले पार्टी छाडेका हुन्। 

उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेतृत्वप्रति लगाएका आरोप यस्ता छन्-

१. पुरानो कम्युनिस्ट आन्दोलनबाट क्रान्ति सफल हुन सकेन भन्ने निष्कर्षसहित नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलन गर्ने भनेर स्थापना भएको पार्टीमा समेत नेतृत्वको कार्यशैली पुरानै र व्यक्ति केन्द्रित हुनु, आलोचना स्वीकार गर्न नसक्ने प्रवृत्ति, निर्णय प्रक्रियामा स्वेच्छाचारिता र केही स्वार्थ समूहको झुण्ड हावी देखियो।

२. पार्टी नेतृत्व र मूल संरचनामा चरम आर्थिक अपारदर्शिता निरन्तर कायम रहनु

३. पार्टीको प्रमुख कार्यदिशा सार्वभौम उत्पादन समितिसम्बन्धी नीति सही र ठोस योजनाबिना सबै असफल हुनु, असफलताबाट सिकेर अघि बढ्ने खाकाबारे नेतृत्वलाई चासो नहुनु।

४. पार्टी स्थापनाको दशक पुग्न लाग्दासमेत देशको कुनै भूगोलमा जनाधार बन्न नसक्नु, पार्टीले अघि सारेका आन्दोलन र क्रान्तिका कार्यक्रम, बहस र फेसबुकमा मात्रै सीमित हुनु।

हेर्नुहोस् विज्ञप्ति

यसैबिच वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छाडेका सबै १३ जना आज (शनिबार) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्।

उनीहरूलाई आज अपराह्न ४ बजे पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा स्वागत गर्ने कार्यक्रम रहेको नेकपाका संयोजक प्रचण्डको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad