राजनीति


हरिबोल प्रकरणमा प्रचण्डलाई घनश्यामको आग्रह: कृपया! पछि हट्नूस्, अगाडि बाटो छैन

हरिबोल प्रकरणमा प्रचण्डलाई घनश्यामको आग्रह: कृपया! पछि हट्नूस्, अगाडि बाटो छैन

प्रचण्ड, घनश्याम भुसाल र हरिबोल गजुरेल


नेपालखबर
माघ ११, २०८२ आइतबार १३:२, काठमाडौँ

नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिस्ट पार्टीले सिन्धुलीका नेताद्वय हरिबोल गजुरेल र महेश्वर दाहाललाई गरेको निष्कासनप्रति टिप्पणी गरेका छन्। 

आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै यसका प्रस्तावक गजुरेल र उम्मेदवार दाहाललाई नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले शनिबार अनुशासनको कारबाही भन्दै पार्टीबाट निकालेका हुन्।

यसप्रति कुनै बेला प्रचण्ड र माधवसँग एउटै पार्टीमा रहेका भुसालले चासो देखाएका हुन्। यस विषयमा उनले प्रचण्डको कडा आलोचना गरेका छन्। नेता भुसालले उक्त कारबाहीबाट प्रचण्डलाई पछि हट्न सुझावसमेत दिएका छन्। 

‘कमरेड प्रचण्ड! हरिबोल गजुरेल र महेश्वर दाहालहरूले तपाईँको अनुशासन उल्लंघन गरे होलान्, त्यसको बदलामा अनुशासित र सजिला मानिसहरू भर्ती भइरहेका होलान्। तर नबिर्सिनूस्, तपाईँले आफ्नै जिन्दगीमा गौरव गर्ने केही चिज छ भने त्यो हरिबोल वा महेश्वरहरूजस्ता अप्ठेराहरूले बनाइदिएका हुन्’, उनले लेखेका छन्, ‘तपाईँ र तपाईँहरूजस्ता ‘शक्तिशालीहरू’ले जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरूको भर्ती गर्न थाल्नुभयो तपाईँहरूको गौरवका एक एक गजुरहरू भत्किँदै गए, त्यसको मूल्य हाम्रो समग्र आन्दोलनले भुक्तान गर्दै छ। तपाईँमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नूस्, अगाडि बाटो छैन।’

आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेकाले नेकपाले विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै सिन्धुलीका गजुरेल र दाहालसहित दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई), सिराहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई शनिबार पार्टीबाट निष्कासन गरेको हो। 

आफ्ना तत्कालीन अध्यक्ष माधव नेपाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्रसहित दर्जनभन्दा बढी वाम दल एकतामा सहभागी भएपछि ‘नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान’ घोषणा गरेका भुसाल गत मंसिर ११ गते चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्त पार्टीसँग एकता गर्दै यसको कार्यवाहक अध्यक्ष बनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad