आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि दलहरुलाई समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न समय दिएको छ।
निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलले (पुस १३ र १४ गते) समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्ने कार्यतालिका छ।
तर, केही दलले भने बन्दसूची पेस गर्ने तालिका केही दिन पर सार्न सरकारलाई आग्रह गर्दै आएका छन्। शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन तालिका केही दिन पछि सार्न आग्रह गरेका थिए।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आज र भोलि पेस भएको नामावलीमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगले जनाएको छ।
आयोगले छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ। पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनेर हेरिने र माघ ४ गते बन्द सूची प्रकाश गर्ने तालिका छ।
आगामी माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने तालिका छ।
निर्वाचनका लागि एकसय वटा राजनीतिक दलले ९३ चुनाव चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन्।
Shares

प्रतिक्रिया