संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले अर्थमन्त्रालयले सांसदहरुको स्वकीय सचिव, पूर्वपदाधिकारीहरुको सुविधाहरु फिर्ता गर्न निरन्तर दबाब दिइरहेको बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आईतवार बसेको बैठकमा उनले यस्तो गुनासो गरेका हुन्। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको स्वकीय सचिवहरू हटाइएकोले यसले असहज स्थिति सिर्जना गराएको बताए।
राष्ट्रिय सभाका उपाध्यक्ष र प्रतिनिधि सभाका उपसभामुखलाई समेत यसले असहज बनाएको उनको भनाई छ। उनकाअनुसार अर्थ मन्त्रालयले बारम्बार मौखिक रुपमा पूर्वपदाधिकारीहरूले पाएका सुविधा फिर्ता भए वा नभएको विवरण मागिरहेको छ।
उनले हाल राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्ष नभएकोले ती दलले पाउने अतिरिक्त सुविद्या कटौती गर्न पनि दबाब आइरहेको उनले जानकारी दिए।
उनले भने, ‘स्वकिय सचिव हटाइएको छ, सबै माननीयहरूको। यसमा राष्ट्रिय सभाका उपाध्यक्ष पनि पर्नुभयो। अहिले प्रतिनिधि सभाको हकमा प्रतिनिधि सभाका सदस्य नभएको कारणले त्यो समस्या परेन तर प्रतिनिधि सभा उपसभामुख अहिले पनि हुनुहुन्छ, उहाँलाई पनि अफ्ठ्यारो पारेको अवस्था छ। खर्च कटौतीको सन्दर्भमा पूर्व पदाधिकारीहरुका सुविधाहरू फिर्ता गर्ने भन्ने खालको हामीलाई सर्कुलर भएको छ। त्यो कारणले पूर्वसभामुखहरूले लिनुभएको सुविधाहरू फिर्ता भएका छन्। हामीलाई तारन्तार अर्थ मन्त्रालयबाट कति सुविधाहरू फिर्ता भए कति भएनन् भनेर मौखिक सन्देशहरू आउने गरेको छ। आइरहेको छ।’
संसद सचिवालयले सुविधाहरू सकेसम्म प्रदान गर्नेमा सकरात्मक रहेको बताए। यद्यपि कतिपय कानुनीबन्धनहरू र सरकारले गरेका निर्णयहरू स्वभाविक रुपमा पालना गर्नुपर्ने भएकोले केही अफ्ठ्यारा परिस्थितिहरूसिर्जना भएको उनको भनाई छ।
Shares

प्रतिक्रिया