नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आगामी महाधिवेशनको मितिबारे सभापति शेरबहादुर देउवाको समूहमै तीन धार देखिएको बताएका छन्।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति देउवानिकट नेताहरूले महाधिवेशनका लागि तीनथरि मिति प्रस्ताव गरेको शिवाकोटीको भनाइ छ।
‘त्यहाँ पार्टी सभापति शेरबहादुर देउवानिकट रहेको टिममा भने तीन धार देखिन्छ’, न्युज एजेन्सी नेपालसँग उनले भनेका छन्, ‘एउटा फागुन २१ मा घोषणा भएको चुनावअगाडि महाधिवेशन गर्नुपर्छ भन्ने, एउटा चुनाव पछाडि जानुपर्छ भन्ने र अर्को होइन, बीचको बाटो निकाल्नुपर्छ भन्ने छ।’
नेता शिवाकोटीले जारी केन्द्रीय समितिमा निर्वाचनमा जाने आवाज बलियो बन्दै गए पनि पाटीको १५औँ महाधिवेशन गर्ने विषयमा भने विवाद रहेको बताए।
महाधिवेशन निर्वाचनअगाडि गर्ने कि पछाडी गर्ने भन्नेमा केन्द्रीय सदस्यबीच मदभेद रहेको उनले जानकारी दिए।
संस्थापन पक्षका २६ जना केन्द्रीय सदस्य भने महाधिवेशन चुनावअगाडि गर्नुपर्ने पक्षमा रहेको उनले बताए।
अझै ५२ जनाले बोल्न बाँकी रहेकाले महाधिवेशनको विषय साझा निष्कर्षकै रूपमा बाहिर आउने उनको दाबी छ।
महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको दफा १७ (२) अनुसार ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेकाले विशेष महाधिवेशन टार्न नसकिने अवस्था आएको शिवाकोटीले बताए।
मंसिरभित्रमा नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशनको विकल्प नभएको उनको भनाइ छ।
‘विशेष महाधिवेशनको प्रस्ताव पार्टीको विधानको दफा १७ (२) मा टेकेर आएको छ। ५५ प्रतिशतले जुन हस्ताक्षर बुझाउनुभएको छ। कार्यवाहक सभापतिले बुझ्नुभएको छ, मुख्यसचिवले दर्ता गर्नुभएको छ, त्यो डकुमेन्टलाई इग्नोर गर्न मिल्दैन’ , उनले भनेका छन्, ‘त्यसकारण संसद् पुनःस्थापना गरेको सर्तमा होस् अथवा संसद् पुनःस्थापना नभएर चुनावमा भएकै सर्तमा होस्, दुवै सर्तमा यो पटक पुस २९ भन्दा अगाडि महाधिवेशन गर्नुको विकल्प छैन। त्यो नियमित गर्नुस्, नियमित नै सही, पार्टीको तर्फबाट केन्द्रीय समितिले निर्णय गरोस्, आफ्नै प्रस्तावका रूपमा अन गरेर विशेष महाधिवेशन त्यो नै सही। त्यो नभएको अवस्थामा ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको अर्थमा भए पनि त्यसमा नै सही। कुनै पनि मूल्यमा नियमित तथा विशेष महाधिवेशन पुस २९ भित्र गर्नुपर्छ।’
Shares

प्रतिक्रिया