राजनीति


महेश बस्नेतको नेतृत्वमा ‘युथ भोलेन्टियर फोर्स’ घोषणा

महेश बस्नेतको नेतृत्वमा ‘युथ भोलेन्टियर फोर्स’ घोषणा

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १९:१, भक्तपुर

नेकपा (एमाले) ले ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको गुण्डुमा जनसङ्गठन समन्वय संयन्त्रले आज आयोजना गरेको विशेष भेलाले फोर्स गठनको घोषणा गरेको हो।
    
एमालेको शनिबार बसेको सचिवालय बैठकले गरेको निर्णय आजै कार्यान्वयन गर्दै एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको नेतृत्वमा आज ९ सदस्यीय कमिटी घोषणा गरिएको हो।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले बस्नेतको संयोजकत्वमा विनोद पाण्डे, शक्ति बडाल, मीनबहादुर शाही, पुष्प श्रेष्ठ, वचन देउजा, विनिता काफ्ले, महेश चौलागाईं, निशा लिम्बू गरी ९ जना सदस्य रहनेगरी कार्यसमिति घोषणा गरिएको बताए।
    
उनले जिल्ला जिल्लामा फोर्स गठन गरी देश, पार्टी र पार्टी नेताको सुरक्षाका साथै देशमा सामाजिक सेवामा समर्पित रहने गरी फोर्सको परिचालन गरिने बताए। विशुद्ध सामाजिक सेवा र जनतासँग प्रत्यक्ष जोडिने गरी फोर्स परिचालन हुने भन्दै ढकालले कम्तीमा एक लाख युवा कार्यकर्ता फोर्समा आबद्ध गराइने बताए। 

नेता बस्नेतले भक्तपुरबाट पहिलोपटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेको बताउँदै भक्तपुरबाहेक ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा तयारी भइरहेको र सबै जिल्लामा क्रमशः घोषणा गर्ने बताए।

उनले आगामी मंसिर ५ गते बानेश्वरबाट फोर्सको औपचारिक घोषणा गर्ने र फोर्सलाई ६ गते काठमाडौँमा हुने पार्टीको बागमती प्रदेशको भेला तथा पार्टीको महाधिवेशनमा परिचालन गरिने बताए।

कार्यक्रममा एमाले ओलीले गुण्डुमा पार्टी नेताका सुरक्षाका लागि खटिएका भूपूसैनिक संगठन, युवा संघ, एमाले भक्तपुर जिल्ला कमिटीलगायतलाई सम्मानपत्र प्रदान गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad