राजनीति


‘प्रधानमन्त्रीको भारत भ्रमणको मिति निश्चित भएको छैन’

‘प्रधानमन्त्रीको भारत भ्रमणको मिति निश्चित भएको छैन’

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८२ बिहिबार १६:४७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित नभएको भारत सरकार सम्वद्ध स्रोतले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल आएर प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट निमन्त्रणा दिएको भए पनि मिति निश्चित नभएको भ्रमण कार्यक्रमबारे जानकार स्रोतले जनाएको हो।

‘हाम्रो विदेश सचिवले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिनुभएको छ। तर भ्रमणको मिति निश्चित भइसकेको छैन। दुवै पक्षलाई अनुकूल मितिमा भ्रमण गर्ने भनिएको छ,’ भ्रमण कार्यक्रमबारे जानकार स्रोतले बिहीबार नेपालखबरसँग भन्यो।’ 

गत भदौ १ गते नेपाल आएका मिस्रीले प्रधानमन्त्री ओलीलाई भेटेरै निमन्त्रणा दिएका थिए। 

उनी स्वदेश फर्किएपछि साउथ ब्लकले ओलीको भ्रमण दुवै पक्षको सुविधाजनक मितिमा हुने भन्दै विज्ञप्ति जारी गरेको थियो।

तर, मिस्री फर्किएपछि भारत र चीनबीच नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका सञ्चालन गर्ने सम्झौता भएको थियो। 

चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको उक्त सम्झौतालाई लिएर नेपाल सरकारले दुवै देशमा कूटनीतिक नोट पठाएको थियो। प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसमक्ष उक्त सम्झौताप्रति आपत्ति प्रकट गर्दै त्यसको कार्यान्वयन नगर्न आग्रह गरेका थिए।

लिपुलेकमा भारतीय अतिक्रमणलाई मान्यता दिने गरी कुनै कदम नचाल्न भन्दै नेपालका तर्फबाट ओलीले चीनको शीर्ष नेतृत्वसमक्ष पहिलोपल्ट आवाज उठाएका हुन्। यसअघि यो विषय कूटनीतिक नोटमै सीमित थियो।

ओली बुधबार राति मात्र चीनबाट फर्किएका हुन्।

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले अब भारत भ्रमणको तयारीमा लाग्ने बताएका थिए। साथै, भारतमा पनि लिपुलेकको विषय निश्चितरूपमा उठ्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad