राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सात वटै प्रदेशका सभामुखहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेका छन्।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले सातै प्रदेशका सभामुखहरुसँग छलफल गरेका हुन्।
लकडाउनको क्रममा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको सूचना लिएर सम्बन्धित निकायमा पु-याउने विषयमा प्रदेश सांसदहरुसँग छलफल चलाउन अध्यक्ष तिमिल्सिनाले आग्रह गरे। यस्तै लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिले देखिनै छलफल चलाउनुपर्ने उनले बताए।
भिडियो कन्फ्रेन्समा प्रदेश सभामुखहरुले सामाजिक दुरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसदहरुले गरिराखेको बताएका छन्। प्रदेश सभामुखहरुले कोरोना भाइरससँगको लडाईमा आ–आफ्नो प्रदेशमा भएका कामहरुको बारेमा समेत एक आपसमा जानकारी गराएका छन्।
यस्तै, प्रदेश संसदले प्रदेश सरकारसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि काम गर्ने तयारीका विषयमा समेत एकआपसमा छलफल भएको थियो।
Shares
प्रतिक्रिया