राजनीति


कांग्रेस बैठक: आम निर्वाचनमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व २० प्रतिशत पुर्‍याउन प्रस्ताव

कांग्रेस बैठक: आम निर्वाचनमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व २० प्रतिशत पुर्‍याउन प्रस्ताव

नेपालखबर
असार १९, २०८२ बिहिबार १८:४६, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आमचुनावमा ४० वर्षमुनिका युवालाई कम्तीमा २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने माग प्रवेश भएको छ। पार्टी नेतृत्वसहित निर्णायक भूमिकामा ८० वर्ष आसपासको वर्चश्व रहेको कांग्रेसमा ४० वर्षमुनिको प्रतिनिधित्वको प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रवेश भएको हो। 

केन्द्रीय सदस्य उर्मिला थपलियाले आमनिर्वाचन र केन्द्रीय समिति दुवैमा ४० वर्षमुनिको उमेर समूहबाट २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिन्। थपलियाले भनिन्, 'पार्टीमा युवा प्रतिनिधित्व बढाउन पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उमेदवार छान्दा ४० वर्षमुनिबाट २० प्रतिशत युवा प्रतिनिधित्व अनिवार्य गर्नुपर्छ।' 

थपलियाले कांग्रेसको प्रदेश संरचनामा केन्द्रीय प्रतिनिधिले नै कब्जा गर्ने गरेको भन्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेशमा उमेदवारी दिन नपाउने प्रावधान राख्नुपर्ने बताइन्। त्यसो गर्दा प्रदेश महाधिवेशन प्रतिनिधिको आकर्षण बढ्नुका साथै प्रदेशको प्रतिनिधित्व पनि बलियो हुने उनले बताइन्। 

'महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नु आवश्यक छ,' थपलियाले भनिन्, 'केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्छ। त्यसो भएपछि प्रदेश प्रतिनिधिहरू नै प्रदेश कार्यसमितिमा आउने वातावरण बन्छ।' 

भातृ संस्थाको अधिवेशन नियमित गर्न अटोमेसनको प्रक्रिया अपनाउनुपर्ने उनको प्रस्ताव छ। 'भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन दुई/दुई वर्षमा अनिवार्य गरौँ,'  थपलियाले भनिन्, 'नियमित अधिवेशन हुन नसके सम्बन्धित तहका पार्टी नेतृत्वले नयाँ नेतृत्व चयन गर्न सक्ने व्यवस्था गर्नुपर्छ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad