प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा आफ्नो संलग्नता भए सजाय भोग्न तयार रहेको बताएका छन्। बुधबार समितिको बैठकमा सांसदहरूलाई जवाफ दिनेक्रममा उनले आफू संलग्न नभएको काममा आफ्नो प्रतिष्ठामाथि आँच आउने काम भएको बताएका हुन्।
'यो गम्भीर अक्षम्य अपराध हो। सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु।गल्ती देखियो भने रामहरि खतिवडा जस्तोसुकै सजाय भागी बन्न तयार छु’ उनले भने।
उनले आफूबाट विधेयकमा गैरकानुनी काम केही नभएको, कार्यअधिकारबाहिर कहिल्यै नगएको पनि दाबी गरे। अहिले आफ्नो राजनीति नै सक्ने गरी प्रश्न उठाइएको भन्दै खतिवडाले आपत्ति पनि जनाए।
'म राजनीतिमा कसैको निगाहबाट आएको होइन। मेरो बाउ सहि भएर पनि आएको होइन, चन्दा दिएर पनि आएको होइन, निर्वाचित भएर आएको हुँ,' उनले भने, 'राजनीतिमा दु:ख गरेर आएको हुँ। निष्ठा र प्रतिष्ठासँग म आज पनि दृढ छु। ममाथि आक्रमण प्रहार भएको छ। यो संसद्माथिकै प्रहार पनि हो।’
आजको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले सभापतिले नै त्रुटि गरेको गम्भीर आरोप लगाएका थिए। एमालेका सांसदहरूले उनले राजीनामा दिनुपर्ने र उनको नेतृत्वको समितिमा बस्न नसकिने बताएका थिए।
Shares

प्रतिक्रिया