गोर्खाको भीमसेन थापा गाउँपालिका कुनैबेला बोर्लाङ गाविस थियो। तर, नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा जन्मेको गाउँ अहिले उनकै नामबाट चिनिन्छि। थापापछि यो गाउँबाट सबैभन्दा माथिल्लो पद पुगेका व्यक्ति हुन् एकनाथ ढकाल। पूर्वमन्त्री ढकाल हाल सांसद छन्।
खासगरी २०६४ सालमा जब माओवादी शान्ति प्रक्रियामा आउने र संविधान सभाको निर्वाचन हुने तय भइरहेको थियो, त्यतिबेला देशमा जातीय, क्षेत्रीयदेखि अनेक मुद्दाहरू उठिरहेका थिए। त्यहीबेला एकनाथलाई महसुस भयो– देशमा एउटा सबैलाई जुटाउने विचार आवश्यक छ। त्यसपछि उनले खोले, नेपाल एक घर र हिमाल, पहाड, तराई, मधेसका सम्पूर्ण नेपाली एउटै परिवार भन्ने मान्यता राख्ने राजनीतिक पार्टी– नेपाल परिवार दल।
यो पार्टीमा कोही राजनीतिक व्यक्ति थिएनन्। अधिकांश सामाजिक क्षेत्रबाट आएका नै सदस्य थिए। पार्टी स्थापनाको तीन महिना मात्रै तयारी गरेको उनको दलले पाएको मतका आधारमा एकनाथ सभासद भए।
‘संविधान सभामा प्रतिनिधित्व भइसकेपछि यो वास्तवमा एउटा नयाँ किसिमको अनुभव थियो किनकि संविधान सभा आफैँमा नेपालको इतिहासमा पहिलो थियो,’ नेपालखबर ‘संसदमा म’मा आइपुगेका ढकाल सम्झन्छन्, ‘सभासद भन्ने शब्द नै संविधान सभाको निर्वाचनको क्रममा सुनेको हो। हामीले पहिले सांसद भन्ने सुनेका थियौँ। सभासद त भइयो तर अलिकति अनभिज्ञता थियो। त्यसकारण पनि होला, पहिलो संविधान सभा सिक्दैमा बित्यो।’
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी सहकारी तथा गरिबी निवारणमन्त्री पनि भए। त्यतिबेला नेपालको इतिहासमै पहिलोपटक राष्ट्रिय सहकारी नीति ल्याउन सफल भएको उनी बताउँछन्। त्यसपछि दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनको पार्टी चुनावमा होमियो। अघिल्लो भन्दा झन्डै तेब्बर बढी मत ल्याएपछि सांसद संख्या पनि एकबाट बढेर दुई पुग्यो।
‘हाम्रो दलको तर्फबाट दुईजना सभासदले नेपालको संविधानमा हस्ताक्षर गर्यौँ,’ एकनाथ खुसी हुँदै भन्छन्, ‘मलाई गर्व के छ भने इतिहासमा बनेको पहिलो संविधान सभाले निर्माण गरेको संविधानको एउटा हस्ताक्षरकर्ताको रूपमा अहिले आफूलाई प्रस्तुत गर्न पाएँ।’
त्यतिबेला पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए। शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी रहेका कामहरू सम्पन्न गर्ने उनको म्यान्डेट थियो।
‘यद्यपि संक्रमणकालीन न्यायको काम चाहिँ अझै पनि सम्पन्न भएको छैन। एउटा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा यो विषयलाई हेर्दाखेरी मलाई त्यति मिठो लागेको छैन,’ उनी भन्छन्।

०७२ मा संविधान आएपछि ०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचन नेपाल परिवार दल आफै चुनावमा होमिएन, एमालेलाई सहयोग गर्नेगरी सहकार्य भयो। तर, एमालेले उनलाई सांसद बनाएन। ०७९ मा फेरि यही सहकार्यको दृश्य दोहोरियो। तर, यसपटक भने ढकाल एमालेबाट समानुपातिक सांसद भए। अहिले एउटा पार्टीको अध्यक्ष भए पनि अर्को पार्टीको सांसद भएर संसद् छिर्ने सम्भवतः उनी पहिलो सांसद हुन्।
सांसद बन्न उनी एमालेकै शरणमा किन पुगे?
समानुपातिक प्रणालीबाट राम्रै मत आए पनि थ्रेसहोल्ड कटाउने अवस्थामा ढुक्क हुन नसकेपछि यो सहकार्य गरेको बताउँछन् ढकाल।
‘देशभरि स्ट्रेन्थ हेर्दा हाम्रोे पार्टीका झन्डै एक लाख साधारण सदस्यहरू छन्, २५ हजार क्रियाशील सदस्य छन्। हामीसँग एकदेखि दुई सिट हासिल गर्ने जनमत थियो। तर थ्रेसहोल्ड नकट्दा मत खेर जान सक्ने विश्लेषण भयो। हाम्रो दुई लाख मत खेर नजाओस् भनेर विवेकपूर्ण तरिकाले छलफल गरेर एमालेसँग सहकार्य गरिएकोे हो। त्यसले गर्दाखेरी यो विन–विन सिचुएसन हो। हामीले देशभरि प्रत्यक्षमा हालेको मतले जहाँ झिनो मतबाट नेकपा एमालेका उमेदवारहरू निर्वाचित हुनुभएको छ, अवश्य पनि उहाँहरूलाई पनि मद्दत पुग्यो होला।’
एकनाथ अहिलेको सांसदहरूले कानुन निर्माणको विषयमा छलफल गरेर मात्रै धर नपाउने स्थिति रहेको बताउँछन्।
‘हामी कानुन निर्माता हौँ तर निर्वाचन क्षेत्रको बारेमा, जनतासँग सम्बन्धित विषयहरूको बारेमा सांसदले त्यहाँ बोल्योे कि बोलेन, त्यो क्षेत्रमा उसले बजेट ल्याउन सक्यो कि सकेनजस्ता विषयमा पनि ख्याल गर्नुपर्ने हुन्छ। विकास निर्माणको कामबाट सांसदहरू टाढा रहन सक्ने अवस्था छैन,’ ढकालले भने।
एकनाथले विश्वका विभिन्न राजनीतिक प्रणाली भएका देशहरूको संसद भ्रमण गरिसकेका छन्। सांसद हुन आफ्नो देशको ज्ञानले मात्रै नपुग्ने उनको तर्क छ।
‘अहिले विश्व एउटा ग्लोबल भिलेज भइसक्यो। त्यसकारण सांसदलाई थोरबहुत विश्वको ज्ञान, अनुभव हुनैपर्छ। हामी सांसदहरू अध्ययनशील पनि हुनैपर्छ। फ्याक्ट चेक गरेर संसदमा बोल्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘तर हामीकहाँ हेर्दा सांसदहरू एकदमै व्यस्त, अध्ययन गर्ने टाइम पनि नभएको, जतिखेर पनि कार्यकर्ताहरूले घेरेर राखिरहेको, कार्यकर्ताहरू जिल्लादेखि विभिन्न विकास निर्माणका योजनाहरू माग गर्न आएको अवस्थामा हुन्छन्। यो बाध्यताले गर्दा सांसहरूलाई आफ्नो प्रमुख दायित्व बहन गर्न चुनौती देखिन्छ।’

बाहिरका संसद् अवलोकन गरेर आएपछि एकनाथलाई लाग्छ, नेपालका सांसदहरूमा साधनस्रोतको पनि अभाव छ।
‘नेपाल एउटा यस्तो देश हो जहाँ संघीय संसदहरूको आफ्नै एउटा सम्पर्क कार्यालय पनि छैन,’ उनी भन्छन्, ‘अब उहाँहरूले पाहुनाहरू भेट्नलाई विभिन्न चिया पसल, कफी पसलहरू खोज्दै हिँड्नुपर्ने बाध्यता छ। कार्यालय नहुँदा उहाँहरूका डकुमेन्टहरू, अध्ययन गर्ने सामग्रीहरू व्यवस्थित रूपमा कहाँ राख्ने? टुंगो छैन। त्यसले गर्दाखेरी बाहिरको संसद् अथवा विशेषगरी विकसित देशका सांसद र नेपालको सांसदबीच तुलना गर्न सकिँदैन। विकसित देशहरूमा सांसदको सचिवालयमा १५–२० जना हुन्छन्। त्यहाँ विज्ञहरू हुन्छन्, त्यहाँ विभिन्न किसिमका प्राविधिक सहयोग उपलब्ध गराउनेहरू हुन्छन्। तर नेपालमा एकजना स्वकीय सचिव मात्रै हुन्छ, उसले विभिन्न कुराहरूको संयोजन गर्दैमा फुर्सद हुन्न। अरु के गरोस्?’
एकनाथलाई लाग्छ, नेपालका सांसद जनताअनुसारकै छन्।
‘जस्ता जनता उस्तै सांसद,’ उनी भन्छन्, ‘अब हामीले अहिलेको भन्दा फरक किसिमको संसद् अथवा सांसद खोज्ने हो भने म त भन्छु पहिले वि ह्याभ टु गो ब्याक टु द पिपुल। जनतामा फर्केर पहिले जनतालाई सुधार्नपर्यो। जनतालाई थप सचेत बनाउनुपर्यो। अनि त्यो सचेत जनताबाट चाहिँ सचेत सांसदहरू आउन सक्छन्।’
सन् २०१८ मा होटल हायातमा एसिया प्यासिफिक समिट भएको थियो। आयोजक थियो, युनिभर्सल पिस फेडेरेसन। यसको नेपाल प्रमुख थिए, ढकाल। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तीन दिन होटलमै बसेका थिए। फेडेरेसनकी संस्थापक तथा युनिफिकेसन चर्चकी प्रमुख मदर मुनले ओलीलाई एक करोड रूपैयाँको पुरस्कार नै प्रदान गरेकी थिइन्।

त्यसयता ओली–ढकाल सम्बन्ध झन् सुमधुर भएको मानिन्छ। एमालेबाट ओलीले उनलाई सांसद बनाएपछि यो अझ प्रस्ट भयो। ढकाल आज पनि ओलीलाई आदर्श र राजनीतिक गुरु नै मान्छन्।
‘नेपालको राजनीतिको एउटा शीर्ष व्यक्तित्व नै हुनुहुन्छ उहाँ,’ उनले भने, ‘अहिले पदमा भएर होइन, पदमा नहुँदाखेरी पनि नेपाली जनताले सदा उहाँलाई त्यही रूपमा सम्झिन्छन् भन्ने लाग्छ। किनभने एउटा ड्यासिङ पर्सनालिटी हो। साहसिक व्यक्तित्व पनि हो। म धेरै ठाउँमा उहाँसँगै जाने, निर्वाचनको अभियानमा सहभागी हुने अवसर पाएको छु। अरु बेलामा पनि उहाँसँग भेटिसकेपछि छुट्टै ऊर्जा प्राप्त हुन्छ। मोटिभेट हुन्छु।’
उनी लगत्तै थप्छन्, ‘मैले उहाँलाई एउटा राजनीतिक गुरुको रूपमा लिएको छु। उहाँबाट मैले अहिले जे सिकिरहेको छु, मलाई लाग्छ यो मेरो सिंगो जीवन र राजनीतिक यात्राको लागि काम लाग्ने छ।
भिडिओ :
फोटो/भिडिओः सरोज नेपाल

प्रतिक्रिया