नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नको जवाफ गृहमन्त्री रमेश लेखकले संसद्मा दिन पाउनुपर्ने बताएको छ। प्रतिपक्षी दलहरू एकजुट भएर यही प्रकरणमा लेखकको राजीनामा मागिरहेका बेला नेकपा एकीकृत समाजवादी पार्टीले भने फरक धारणा राखेको हो।
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहमन्त्रीको राजीनामाको बटमलाइन आफूहरूको नभएको प्रष्ट पारे।
'हाम्रो पार्टीले गृहमन्त्रीको राजीनामा मागेको थिएन/छैन। यसरी गर्दै जाने हो भने नजिर बस्छ- भोलि कुनै मन्त्रीसँग रिस उठ्यो भने राजीनामा मागे भइहाल्यो प्रमाण देखाउनु परेन,' उनले नेपालखबरसँग भने, 'हामीले यी कुरा रेकर्ड गर्न खोजेका थियौँ। बोल्न दिइएको छैन। राजीनामाको बटमलाइन रास्वपाको मात्रै हो।'
मन्त्रीले सदनमै बोल्न पाउनुपर्ने र उनको जवाफको आधारमा अडान तय गर्नुपर्ने उनी बताउँछन्।
उनले थपे, 'मन्त्रीले बोल्न पाउनुपर्छ बोल्न दिनुपर्छ। जवाफको आधारमा अडान राख्नुपर्छ।'
भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारी जोडिएको विषयमा गृहमन्त्री लेखको पनि नाम जोडिएको छ। यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपासहितका दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आइरहेका छन्।
उनीहरूले बटमलाइन नै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भएको बताउँदै आएका छन्।
Shares

प्रतिक्रिया