ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टी भएपछि बुधबार मात्रै कारागारमुक्त भएका मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्।
मस्तिष्कघात भएपछि शुक्रबार अस्पताल भर्ना भएका आलमलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
तर आलम अस्पतालमा पनि रौतहटकै राजपुर घटनाबारे बोलिरहेका छन्।
‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ भन्दै नर्सहरूलाई गाली गरिरहनुभएको छ। कतिजना मारेँ, कसरी मारेँ भनेर बरबराइरहनु भएको छ,’ अस्पताल स्रोतले नेपालखबरलाई भन्यो, ‘ब्रेन म्यापिङमा समस्या देखिन्छ।’
उपचारमा संलग्न स्रोतका अनुसार बिहान साढे १० बजेदेखि आलमको उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या भने बिहान ७ बजेतिर नै भइसकेको थियो।
अफताब आलमलाई मस्तिष्काघात, आईसीयूमा उपचार जारी
नेपाली कांग्रेसका नेता एवंपूर्वमन्त्री आलमलाई उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले बुधबार सफाइ दिएको थियो।
रौतहट जिल्ला अदालतको फैसला अनुसार जन्मकैदको सजाय भुक्तान गरिरहेका आलमसहित ४ जनालाई नै उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हो। उक्त घटना भएको हो भन्ने तथ्ययुक्त प्रमाण नदेखिएको तर्क उच्च अदालतको राय किताबमा उल्लेख गरिएको छ।
२०६४ सालको निर्वाचनमा राजपुरमा आतंक मच्चाएर चुनाव जित्न बम बनारहँदा विस्फोटमा परेका घाइतेलाई इँटा भट्टामा लगेर जलाएको आरोप उनीसहितका अभियुक्तहरूमाथि थियो।
आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। तर घटना दबाउन उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो।
उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए। तर उच्चको फैसलापछि रिहा भएका उनी मस्तिष्कघातका कारण २ दिनपछि नै अस्पताल पुगेका हुन्।
Shares

प्रतिक्रिया