नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२—०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने जिकिर गरेका हुन्।
'म आग्रह गर्न चाहन्छु भने, पहिलो नेपाल भन्ने देशलाई साँच्चिकै माया गर्ने हो, यसको स्वाधीनताको रक्षा गर्ने हो, यसलाई सबैको साझा देश बनाउने हो, तपाईं हाम्रा छोराछोरी वाक्क दिक्क भएर देशमा टिकाउन गाह्रो भएको छ,' उनले भने, 'आफ्नै छोराछोरीलाई सपना देखाउन सक्दैनौँ भने तपाईँ हामीले राजनीति गरेर, मन्त्री भएको के अर्थ रहन्छ ? यो देशलाई हामीले ठिक ढङ्गले बुझाउन सकेनौँ। एकातिर, यसको औचित्य, महत्व र गरीमा बुझाउन सकेनौँ । अर्कोतिर यो देश बन्छ, हामीभन्दा कमजोर देशहरूले विकास र प्रगति गरेका छन्। हाम्रो नि गर्न सकिन्छ भन्ने सपना देखाएर त्यसलाई बिपनामा परिणत गर्ने सङ्कल्प गरौँ।
उनले सङ्घीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै सङ्घीयतालाई जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताए।
'सङ्घीयतालाई जति बलियो बनायो,उति नै लोकतन्त्र बलियो हुन्छ। देश समृद्ध बन्छ' उनले भने।
Shares

प्रतिक्रिया