प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ वर्षको कार्यकाल सम्पन्न गरेर बिदाइ भएका छन्। शुक्रबार आफू पद सम्हालेको ६ वर्ष पुगेकै दिन उनी निर्वाचन आयोगबाट बिदा भएका हुन्।
थपलिया २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए।
उनले बिदाइ कार्यक्रममा आफ्नो ६ वर्षको कार्यकालको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सिर्जनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्वपूर्ण अवसरको रुपमा लिएको बताए।
थपलियाको बिदाइमा आयोगको सभाहलमा विशेष कार्यक्रम गरिएको थियो। कार्यक्रममा आयोगका पदाधिकारी एवं कर्मचारीहरूको उपस्थिति थियो।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियालाई आयोगका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा
प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गरेका थिए।
बिदाइ समारोहमा बोल्दै थपलियाले निर्वाचन आयोगको ६ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सिर्जनात्मक
चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताए।
यस अवधिमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका आवधिक निर्वाचनहरू, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचनहरू स्वच्छ र स्वतन्त्ररूपमा सम्पन्न भई जनमतको स्वस्फूर्त अभिव्यक्तिमार्फत् लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको उनको भनाइ थियो।
साथै उनले स्वतन्त्रताको उद्घोषसँगै सुरू भएको र समयले परिपक्व बनाउँदै लगेको नेपालको निर्वाचन जनताको अभिमतले लेखिएको लोकतन्त्रको महागाथा भएको बताए।
निर्वाचन आयोगले झण्डै ६ दशकमा भोगेको राजनीतिक व्यवस्था, निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापन प्रक्रियाका उतारचढावपूर्ण यात्राले निर्वाचन लोकतन्त्रको आत्मा हो र नागरिक सहभागिता त्यसको प्राण हो भन्ने स्पष्ट सन्देश प्रवाह गरेको पनि उनको भनाइ थियो।
उनले निर्वाचन आयोगमा क्रियाशील रहँदा नेपालको संविधानबाट आयोगलाई प्राप्त कार्यक्षेत्रभित्र रही प्रचलित कानुन बमोजिम निष्ठा र इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न प्रयत्नशील रहेको धारणा पनि राखे। आयोगको इमान्दार प्रयासमा अमूल्य सहयोग,सहकार्य र सहजीकरण गर्ने सबैप्रति उनले कृतज्ञता पनि व्यक्त गरे।
Shares

प्रतिक्रिया