गृहसचिव गोकर्णमणी दुवाडी नेतृत्वको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त ६ अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ। बिहीबार भएको निर्णय अनुसार दुई ब्याचका ६ डीआईजीहरू सिफारिसमा परेका छन्।
२०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोली डीआईजी बढुवा हुँदा २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएको टोली भने छुटाइएको छ। यसअघि रवि लामिछाने गृहमन्त्री र वसन्तबहादुर कुँवर आईजीपी हुँदा उनीहरूलाई पहिलोपटक डीआईजीमा पछि पारिएको थियो।
त्यतिबेलै गृहमन्त्री र आईजीपीले प्रहरीको नेतृत्वमा पुग्न नदिने भन्दै उनीहरूलाई छुटाएका थिए। पुनः अहिले त्यही रणनीतिलाई सदर गर्दै एआईजी बढुवा सूची सार्वजनिक भएको हो।
राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीले त्यतिबेला आफूहरूलाई अन्याय भएको भन्दै यसपटक न्याय गर्नु पर्ने पहल गरिरहेको थियो। तर अन्तिम समयमा उनीहरूको टोली नै नछोइ एआईजी सिफारिस भएको छ।
अनुसन्धान विभागबाट आएको टोलीले पहिलेको वरियताअनुसार आगामी कात्तिक २७ गतेदेखि प्रहरी संगठनको नेतृत्व गर्ने थियो। यो टोलीबाट २०८३ पुस ५ गतेसम्म नेतृत्व गरेपछि मात्रै अहिले एआईजीमा सिफारिस भएका दानबहादुर कार्की, राजन अधिकारी र मनोज कुमार केसी मध्येबाट आईजीपी बन्ने थिए। उनीहरू तीनै जना २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्।
६ डीआईजी एआईजीमा बढुवा सिफारिस
यो ब्याचचले अहिलेकै व्यवस्थामा अनुसन्धान विभागाको टोलीपछि पनि १५ महिना संगठनको नेतृत्व गर्न पाउने थियो। तर रवि र वसन्तले गरेको डिजाइनलाई अहिलेको सरकारले पनि सदर गरेपछि एउटा टोलीलाई नै नेतृत्वमा पुग्न नदिने गरी छुटाइएको छ।
डीआईजीबाट एआईजीमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी सिफारिस भएका छन्। पहिलो र दोस्रो नम्बरमा सिफारिस भएका खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका हुन्। त्यतिबेला छुटेका सोही ब्याचका शर्मा २०८१ जेठ १३ गते डीआईजीमा बढुवा भएका थिए। उनी २०५४ को टोलीका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीसँगै डीआईजी भएका थिए।
२०५३ को अनुसन्धान विभागको टोलीका सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विक भने २०८१ मंसिर १७ गते डीआईजी भएका थिए।
अहिले एआईजीमा सिफारिस भएका लालमणि आचार्य आगामी जेठ १० गते नै अवकास हुनेछन्। उनको अवकासपछि एक जना एआईजी रिक्त हुनेछ। त्यसपछि आगामी भदौ १९ गते प्रहरी महानिरीक्षक दीपक थापासँगै उनको ब्याचका दुई एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ अवकास हुनेछन्। त्यसपछि तीन जना एआईजी रिक्त हुनेछ।
त्यसको दुई महिनापछि कात्तिक २७ गते हाल एआईजीमा सिफारिस भएका खापुङ र पोखरेल पनि अवकास हुनेछन्। त्यसपछिको नेतृत्वमा पुग्ने अवस्थामा रहेको अनुसन्धान विभागको टोलीलाई रोक्न अहिले नै एआईजीमा पछि पारिएको हो।
त्यसअघि एसएसपीसम्म बढुवा हुँदा भने २०५४ को टोलीभन्दा अनुसन्धान विभागको टोलीका ३ जना अगाडि थिए।
Shares

प्रतिक्रिया