सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापालगायत नेताले नै सरकारको आलोचना गरिरहेका बेला सत्ताधारी दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ।
सत्ताधारी दुई दल (कांग्रेस-एमाले) सम्मिलित संयन्त्रको बैठक बुधबार साँझ बस्ने गरी बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
बैठकको समय भने संयन्त्रमा सम्मिलित नेताको समयअनुकूल मिलाएर तोकिने बताइएको छ।
‘बैठकमा ससामयिक विषयका साथै शिक्षक आन्दोलनका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ’, नेपालखबरसँग घिमिरेले भने।
यसअघि मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। भेटमा दुई नेताबीच सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।
साथै, उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने निर्णय पनि भएको थियो।
उच्चस्तरीय संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।
Shares

प्रतिक्रिया