नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शासत सत्ता सञ्चालन गर्नेहरूको तीनपुस्ताकै सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव गरेका छन्।
शुक्रबार नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले पूर्वराजादेखि कांग्रेसका नेताहरूसम्मको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने प्रस्ताव गरेका हुन्।
उनले अख्तियारमाथि प्रश्न उठाउँदै भने, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ यसले अनुसन्धान गर्छ, अनुसन्धान गरेको विषय छापामा ल्याउँछ। वर्षौँसम्म तँलाई थुन्दिउ थुन्दिउँ भनेर बिताउँछ। अब एउटा शक्तिशाली आयोग बनाउँ। शक्तिशाली आयोगलाई ०४६ सालपछि शासनसत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने अधिकार दिऔँ।'
उनले ०४६ यताका शासन सत्तामा बसेका सबै व्यक्तिहरूको सम्पत्ति र आयव्यय हेरेर छानबिन गरी कारबाही गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताए । ०४६ सालपछि नेपालमा कांग्रेस, एमाले, माओवादी, राप्रपा मात्र नभएर पूर्वराजाले पनि शासन गरेको भन्दै सबैमा छानबिन गर्नुपर्ने बताए ।
शक्तिशाली आयोग बनाएर ०४६ सालपछि देशको लाभको पदमा बसेका सबैको तीनपुस्तेको आम्दानी खर्च खोज्नुपर्ने थापाको भनाइ छ।
'०४६ पछाडि नेपालमा कांग्रेसले पनि शासन गर्यो, एमालेले गर्यो, राप्रपाले गर्यो, माओवादीले गर्यो हुँदा-हुँदा पूर्वराजाले पनि गरे, नयाँ भनिएकाहरू पनि शासन सत्तामा बसिसकेका छन्। शक्तिशाली आयोगबाट यो देशमा लाभको पदमा बसेका सबै मानिसको तीनपुस्ते सम्पत्ति हेरौँ, आयव्यय हेरौँ। छानबिन गरौँ' उनले भने।
उनले कांग्रेसकै नेता भ्रष्टाचारी भए कांग्रेसले अब बोक्न नसक्ने बताए।
उनले भने,'सम्पत्ति हेरौँ, आयव्यय हेरौँ, विभिन्न पदमा बस्दा गरेको निर्णय हेरौँ । त्यसमा कांग्रेसको कति मान्छे पर्छ परोस्। त्यसको भारी किन बोक्ने हामी, जोसुकै परोस्। नेता परोस्,नाता परोस् जोसुकै परोस्।'
Shares

प्रतिक्रिया