नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले देशमा राजावदी खतरा बढेको भन्दै मिलेर संघर्ष गर्न गणतन्त्र पक्षधर दलहरूसँग पुनः आग्रह गरेको छ।
बिहीबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले ‘प्रतिगामी खतराका विरुद्ध भएका सत्ता वा प्रतिपक्षका अन्य पक्षहरूसित पनि कार्यगत एकता वा सहकार्य गर्न’ पार्टीको नीति खुला रहेको स्पष्ट पारेका छन्।
यस्तै, मसालले २०८२ साल वैशाख २० गते देखि २६ गतेसम्म देशव्यापी रूपमा पालिका तहमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्षको सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन समापन गरेकै दिन बसेको मसालको पोलिटब्यूरो बैठकले गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि आन्दोलन गर्ने ठेगान गरेको हो।
प्रेस वक्तव्यमा भनिएको छ :
गणतन्त्र र धर्मनिरपेक्षता विरुद्धको राजावादीहरूको खतरालाई हाम्रो पार्टीले पहिलेदेखि नै गम्भीर रूपमा लिँदै आएको छ र त्यो अब अरू गम्भीर भएको छ भन्ने हाम्रो निष्कर्ष छ। त्यसैले हामीले त्यो राजावादी खतराका विरुद्धको सङ्घर्षलाई अरू तिव्र बनाउनुपर्ने निर्णय गरेका छौँ। त्यस सिलसिलामा आजै बसेको उपलब्ध पीबीएम समेतको केन्द्रीय कार्यालयको बैठकले २०८२ साल वैशाख २० गते देखि २६ गतेसम्म देशव्यापी रूपमा पालिका तहमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्षको सञ्चालन गर्ने निर्णय गरेको छ। प्रतिगामी खतराका विरुद्ध भएका सत्ता वा प्रतिपक्षका अन्य पक्षहरूसित पनि कार्यगत एकता वा सहकार्य गर्नको लागि हाम्रो नीति खुला रहने छ।
२०८१ चैत्र २८ गते
(महामन्त्री)
Shares

प्रतिक्रिया