नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान लेख्दै गर्दा आफ्नो मत संविधानमा धर्मनिरपेक्षता लेख्नु हुँदैन भन्ने रहेको खुलाएका छन्। बिहीबार नेपाली कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यसमा केही सम्झौता गरिएको उल्लेख गरे।
‘संविधान लेख्दै गर्दा धर्मनिरपेक्षता लेख्नु हुँदैन, संविधानमा धार्मिक स्वतन्त्रता लेख्नुपर्छ भन्ने मेरो मत थियो,’ थापाले भने, ‘म मस्यौदा समितिको सदस्य थिएँ। त्यो मैले भित्र राखेको मत थियो। लिखित मत थियो। धार्मिक स्वतन्त्रता भएको देश हो नेपाल, जहाँभित्र फरक–फरक धर्म अभ्यास गर्ने खालका हामी मानिस छौं भन्ने कुरा रहनुपर्छ भन्ने थियो। तर, एउटा विषय राखेर आयो। यो एउटा खालको कम्प्रमाइज थियो।’
यद्यपि आधारभुत कुरामा भने सम्झौता नगरेको उनको भनाइ थियो। ‘संविधान लेख्दै गर्दा हामीले यसरी नै थुप्रै विषयमा सम्झौता गरेका हुन्छौं,’ थापाको भनाइ छ, ‘तर, यो भन्दै गर्दा हामीले हाम्रा आधारभुत कुरामा सम्झौता गरेनौं।’
त्यस्तै उनले अहिलेको व्यवस्था सुझबुझ पुर्याएरै ल्याएको जिकिर गरे। थापाले भने, ‘यो संघीय लोकतान्त्रिक व्यवस्था बढो सुझबुझ पुर्याएर, सल्लाह गरेर ल्याएको व्यवस्था हो। यद्यपि यो संविधान नेपाली कांग्रेस एक्लैले लेखेको होइन।’
Shares

प्रतिक्रिया