राजनीति


यातायातमन्त्री भन्छन् : प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडी चलाउन दिन्छ

यातायातमन्त्री भन्छन् : प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडी चलाउन दिन्छ

नेपालखबर
चैत २५, २०८१ सोमबार १५:१५, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरू चलाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

सोमबार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। 

उनले मापदण्डविपरितका गाडीहरूको कारण यात्रुवाहक सवारी साधनहरूमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए। उनले मालवाहक सवारी साधनहरूको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताए। 

उनले मालवाहक गाडिहरूको नाप तौलबारे अध्ययन गर्न कार्यदल बनाएको र उक्त समस्या छिट्टै समाधान गरिने बताए। उनले मालवाहक सवारी साधनको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको समेत बताए। प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडीहरू चलाउन दिएको आरोप लगाए। 

मन्त्री दाहालले भने, ‘तौलपुलको सम्बन्धमा तपाईहरूले दिनुभएको सुझावप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामी त्यसका लागि कार्यदल बनाएर अध्ययन गर्छौं। तुरुन्तै त्यसलाई समाधान गर्नुपर्ने भएको छ। यस सम्बन्धमा नेपाल प्रहरीबाट हामीलाई सहयोग भएन। असहयोग भयो क्या। यो विषयमा पनि हामीले गृह मन्त्रालयसँग नै बस्नुपर्ने भएको छ। किनभने जहिले पनि यस्तै विकृति हुने कुराले त देशलाई कुनै फाइदा पुग्दैन नि। पैसा खाएर ओभर लोडका गाडीहरू चलाउन दिने कुराले त स्वभाविक रुपले सार्वजनिक सम्पत्ति नोक्शान भइरहेको छ। त्यसकारण यो विकृतिलाई हटाउनको लागि लाग्ने कुरा म यहाँहरूलाई जानकारी गराउँछु।’

उनले गाडिहरूको ओभरलोडका सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक छलफल गर्ने बताए। निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गरे। 

स्तरोन्नति भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको थियो। यसप्रति यातायात व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडकहरूमा भइरहेको राजनीति अन्त्य गर्न सुझाव दिए। उनले यात्रुवाहक सार्वजनिक सवारी साधन चल्ने सडकहरूमा प्राविधिक रुपमा सहयोग गर्न मन्त्रालयसँग आग्रह गरे। उनले यात्रुवाहक सवारी साधन सहज ढंगले हिँड्ने वातावरण मिलाउन मन्त्री दाहालको ध्यानाकर्षण गराए। 

देशभरको सडकमा सार्वजनिक सवारी साधनका लागि उपयुक्त वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै माग सम्बोधन नभएर सडक आन्दोलनमा उत्रिने चेतावनी दिए। उनले उनले दाउन्नेमा मालवाहक सवारीका कारण सार्वजनिक सवारी साधनहरूले दुःख पाइरहेको उल्लेख गर्दै केही दिनमा समाधान नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिए। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले वायु प्रदुषण बढ्नुमा सार्वजनिक सवारी साधनको मात्र नभई निजी र व्यक्तिगत गाडिहरूको योगदान पनि उत्तिकै रहेको बताए। उनले सार्वजनिक यातायातभन्दा संस्थागत र नीजि सवारीसाधनको कारण बढी वायु प्रदुषण भइरहेको बताए। 

उनले मोटरसाइकलहरूलाई समेत वायु प्रदुषणको मापदण्डभित्र राखेर चेकजाँच गर्न माग गरे। उनले मोटरसाइकलबाट निस्कने धुँवा वातावरणका लागि झन खतरनाक हुने भएकोले तुरुन्त कार्यविधि बनाएर चेकजाँचको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनको जोड छ।

अध्यक्ष स्वाँरले भन्नुभयो, ‘अब मोटरसाइकललाई पनि पोलुसन मापदण्डभित्र ल्याएर त्यसको चेकजाँच गर्नुपर्नेछ। मोटर साइकलको हेभी भोल्युम छ। सार्वजनिक यातायातभन्दा संस्थागत र नीजि सवारीसाधनहरू बढी मात्रामा छन्। यिनीहरूको सन्दर्भमा मापदण्ड लागू गर्नुपर्छ। सार्वजनिक यातायातले त पब्लिकलाई सुविधा नै दिने हो। अहिले उपत्यकाभित्र १० लाखभन्दा बढी मोटरसाइकल चल्छन्। ति मोटरसाइकलहरूको सन्दर्भमा हामीसँग मापदण्ड नै छैन। दशौँ लाख मोटर साइकलहरूले उपत्यकाभित्र चल्दा कति फोहोर हुन्छ? विज्ञहरूले नै भनेका छन् कि मोटरसाइकलबाट आउने धुवाँ झन् खतरनाक हुन्छ। अब तुरुन्त एउटा कार्यविधि बनाएर त्यसलाई पनि चेकजाँच गर्ने गरेर अनुगमन गरिदिनुपर्यो।’

निर्माणाधिन सडकहरूमा मालवाहक सवारी साधनमा रोक लगाएर भएपनि सार्वजनिक सवारी साधन चल्ने वातावरण मिलाउनुपर्नेमा व्यवसायीको जोड छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad