राजनीति


राजगद्दीमा फर्किनबाट ज्ञानेन्द्र शाहलाई रोक्न ‘सबै शक्ति’ लगाउने एमालेको संकल्प

अरु नेताको कुरा सुनेपछि ओलीले भने– गणतन्त्रवादी एक ठाउँमा उभिनुपर्छ, सरकार त हाम्रो छुट्टै छँदैछ
राजगद्दीमा फर्किनबाट ज्ञानेन्द्र शाहलाई रोक्न ‘सबै शक्ति’ लगाउने एमालेको संकल्प

सागर न्यौपाने
चैत ४, २०८१ सोमबार २२:१२, काठमाडौँ

नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक लाभ लिन खोजेको ठहर गर्दै यसलाई रोक्न पार्टीको सबै शक्ति लगाउने भएको छ। सोमबार दिउँसो २ बजेपछि झण्डै दुई घण्टा चलेको बैठकमा बोलेकामध्ये अधिकांश नेताहरूले गणतन्त्रवादी शक्ति एक ठाउँ उभिनुपर्ने बताएका थिए। 

प्रायः आफ्ना कुरा मात्र राख्ने गरेका अध्यक्ष केपी शर्मा ओलीले यसपटक सबै पदाधिकारीलाई बोल्न समय दिएको एक पदाधिकारीले जानकारी दिए।

‘केही शक्तिको आडमा ज्ञानेन्द्र शाहले अराजक गतिविधि गरिरहेका छन्, यो रोक्न गणतन्त्रवादीहरू एक ठाउँमा आउनुपर्‍यो, गणतन्त्रवादी आफैँ झगडा गरेर भएन,’ बैठकमा नेताहरूको सुझाव उधृत गर्दै ती पदाधिकारीले भने।

एमालेका अर्का पदाधिकारीले पनि गणतन्त्र ल्याउने सबै शक्तिबीच संवाद गर्न जरुरी रहेको बताए।

‘गणतन्त्रवादी एकजुट हुन गाह्रो छैन। ज्ञानेन्द्रको चलखेल संविधानमाथिको आक्रमण हो,’ ती नेताले भने, ‘यस्तो बेला सबै एकढिक्का हुनुपर्छ। सम्पूर्ण देशभक्त, गणतन्त्रवादी, प्रगतिशील, यो संविधानको पक्षधर पार्टी, शक्ति, व्यक्ति, नागरिक समाज सबै एकताबद्ध हुनुपर्छ। यो पार्टीको निचोड हो।’ 

पूर्वराजा ज्ञानेन्द्रले  सक्रिय हुने प्रयास अन्तर्गत फागुन ७ गतेको भिडिओ सन्देश जारी गर्नुका साथै २५ गते स्वागत कार्यक्रम राखेको निष्कर्ष एमालेको छ।

‘ज्ञानेन्द्र फेरि सक्रिय बन्न निकै जोडबल गरिरहेका छन् भन्ने प्रष्ट भयो,’ ती नेता भन्छन्, ‘तर, त्यो सम्भव छैन, त्यो गर्न दिइदैँन। राजतन्त्र भएको बेला कति दुःख थियो, अब एकएक केलाउनुपर्छ, उनको शासनकालको पीडा नदेखेको अहिलेको पुस्तालाई भन्नुपर्छ। उनी फर्केर आउन सक्दैनन्। यो उनको महत्त्वाकांक्षा मात्र हो।’

ज्ञानेन्द्रविरुद्ध जनपरिचालन गर्ने
सरकारको नेतृत्व गरिरहेको एमालेले ज्ञानेन्द्रको गतिविधि रोक्नका लागि देशभर जनपरिचालन गर्ने भएको छ।

‘संगठनका गतिविधिलाई व्यापक रूपमा लैजान्छौँ। गणतन्त्रलाई कमजोर हुन दिँदैनौँ। जनताको अधिकार कमजोर हुन दिँदैनौंँ,’ उनले भने, ‘कार्यक्रम आउँछ। स्थिति, अवस्था र आवश्यकता हेरेर लाखौँ मानिस परिचालित गर्ने हाम्रो योजना छ। जरा अभियान अन्तर्गत हामीले टोल टोलमा कमिटी बनाइरहेका छौँ, अब तिनै मानिस उतार्दा हजारौँ होइन, लाखौ परिचालित हुन्छन्। नेपालम अब राजतन्त्र फर्कने चान्स नै छैन।’

यद्यपि, सरकारको कामलाई प्रभावकारी बनाउन केही नेताले प्रधानमन्त्री समेत रहेका ओलीलाई सुझाव पनि दिए। 

असन्तुष्टि भड्काएर केही परिवर्तन गर्न सकिन्छ भनेर लागेका ज्ञानेन्द्रको प्रयास सफल हुन नदिन जनतालाई आफूतिर आकर्षित गर्नुपर्ने केही नेताले राय दिए।

‘सरकारले राम्रो पर्फमेन्स देखाउनुपर्‍यो। जनताका समस्यामा केन्द्रित हुनुपर्‍यो। बजेट, नीति तथा कार्यक्रम आउँदैछ। सरकार जनताका समस्या हल गर्नेगरी जानुपर्‍यो,’ बैठकमा आएका सुझाव उधृत गर्दै ती पदाधिकारीले भने, ‘सरकार छ, संविधान छ, कानुन छ, नियम छ, जनता छन्, देशभरि हाम्रो जनमत छ।’

ओली : सरकारमा होइन, एजेन्डामा सबै एकैठाउँ
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ज्ञानेन्द्रको कदमलाई सफल हुन नदिने बताए। 

‘यो देशको आवश्यकता पनि होइन, माग पनि होइन। केही मानिस सडकमा उत्रिएर यो व्यवस्था जाँदैन। यो जान दिइँदैन,’ ओलीले भने, ‘हामी त्यत्तिकै चुप लागेर, त्यत्तिकै हेरेर बस्दैनौँ।’ 

ओलीले पनि प्रतिगमनविरोधी शक्ति एकै ठाउँ हुने अवस्था आएको स्वीकार गरेका छन्। 

‘गणतन्त्रवादी एक ठाउँमा उभिनुपर्छ,’ उनको भनाइ छ, ‘सरकार त हाम्रो छुट्टै छँदैछ। सरकार परिवर्तन होइन, एजेन्डामा हामी सबै एकैठाउँमा उभिनुपर्छ।’

ओलीले सोमबार बिहानै मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन चलखेल भइरहेको र मुलुकलाई पश्चगमनतिर धकेल्न खोजिएको कवितामार्फत बताएका थिए।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधानसभाबाट प्राप्त उपलब्धिहरू अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने र मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए। 

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘आम जनता र विशेष गरी युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता, र मानव अधिकारको महत्त्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आह्वान गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad