राजनीति


माधव नेपालको आग्रह : प्रतिगामीहरू सलबलाउन थाले, लोकतान्त्रिक शक्ति मिलौँ

माधव नेपालको आग्रह : प्रतिगामीहरू सलबलाउन थाले, लोकतान्त्रिक शक्ति मिलौँ

नेपालखबर
फागुन २६, २०८१ सोमबार १६:०, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

पार्टीद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा उनले जनताको लामो सङ्घर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताए।

सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रतिगामी यथास्थितिवादीहरुले अहिले टाउको उठाउन थालेका छन्। सो विषयलाई पार्टीले गम्भीर रुपमा लिएको छ।’

केही समययता काठमाडौँ उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नाराजुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको उनको भनाइ थियो।

अध्यक्ष नेपालले लोकतन्त्रमाथिको प्रहार सह्य नहुने विचार व्यक्त गर्दै संविधान, लोकतन्त्रका साथै सङ्घीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्व हुनुपर्ने बताए।

अध्यक्ष नेपालले सङ्घीय लोकतन्त्रमाथि धावा बोलिरहेकाले जनता चनाखो हुनुपर्ने र संविधानको उल्लङ्घन गर्ने छुट कसैलाई पनि नरहेकामा जोड दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad