राजनीति


सरकारलाई सांसदहरूको प्रश्न : धुलो लागेको भ्रष्टाचारको फाइल कहिले खोल्ने?

सरकारलाई सांसदहरूको प्रश्न : धुलो लागेको भ्रष्टाचारको फाइल कहिले खोल्ने?

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०८१ सोमबार १६:०, काठमाडौँ

प्रतिनिधिसभा बैठको शुन्य समयमा सांसदहरूले जनचासोका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय स्वतन्त्र सांसद मनिष झाले १४ सय विघा जग्गासहितको ७२ कुण्ड र ५२ कुटी भनेर परिचित अध्यात्मिक केन्द्र जनकपुरको जग्गा लुटिएको बताए। उनले १२ सय बिघा जग्गा दलाल र जनप्रतिनिधिनै मिलेर निजीकरण गरेकाले खोजतलास गरी पुनः स्थापित गराउन सरकारको ध्यानाकर्षण गराए।

नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले मकवानपुरमा रहेको अन्टार्टिका बिस्कुट फ्याक्ट्रीमा व्यवस्थापनले हटाएको ९६ जना मजदुरलाई तुरुन्त काममा फर्काउन सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गराए।

एमालेकै सांसद महेश बस्नेतले नेपाल सरकार अन्तर्गतका कार्यालयहरूमा संवैधानिक व्यवस्थाविपरित विकास निर्माणसँग संवद्ध कार्यालयहरूले अंग्रेजी भाषाको प्रयोग गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसकी सांसद मैना कार्कीले तरकारी तथा फलफूलमा विषादीको प्रयोग कम गर्न र नागरिकको स्वास्थ्यको रक्षा गर्न बलियो कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउँदै विषादीका कारण क्यान्सरलगायत डरलाग्दा रोगहरू लाग्ने गरेकाले सरकारको ध्यान जानपर्नेमा जोड दिइन्।

एमालेका सांसद मंगलप्रसाद गुप्ताले कृषि मन्त्रालयले कपिलवस्तुका उखु किसानलाई अनुदानको रकम उपलब्ध गराउन सिफारिस गरेपनि कृषि, अर्थ र उद्योग मन्त्रालयले एकअर्कालाई देखाएर पन्छिने गरेकोप्रति आक्रोश व्यक्त गरे। तत्काल किसानलाई रकम उपलब्ध गराउन सरकारलाई उनको ध्यानाकर्षण थियो।

स्वतन्त्र सांसद योगेन्द्र मण्डललले सिमेन्टको मूल्य एकैपटक २६१ रुपैयाँ वृद्धि गरेपछि व्यवसायीलाई २२ अर्ब घाटा भएको बताउँदै १२० रुपैयाँ वृद्धि गर्ने भन्ने मन्त्रीसँग भएको सहमति किन कार्यान्वयन नभएको भनी सरकारलाई प्रश्न गरे।

एमालेकी रणकुमारी बलम्पाकी मगरले गत असोज १२ गतेको वर्षा र बाढीले बिगारेको विपी राजमार्ग सहज सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

जनता समाजवादी पार्टीकी रञ्जुकुमारी झाले स्वास्थ्य बिमा प्रभावकारी रुपमा सञ्चालन गर्न सबै सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य बीमा डेस्क खडा गर्न माग गरिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी रोशन कार्कीले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने गरेपनि १८० देशमध्ये नेपाल १०७ औँ भ्रष्टाचार हुने मुलुकमा पर्नु दुःखद् भएको बताइन्। भ्रष्टाचार नियन्त्रणका लागि धुलोले टाँसिएका फाइलहरू तत्काल खोल्न उनको माग थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad