राजनीति


कांग्रेस-एमाले गठबन्धनले बनाए संविधान संशोधन कार्यदल

शनिबार सत्तापक्षीय दलहरूको बैठक
कांग्रेस-एमाले गठबन्धनले बनाए संविधान संशोधन कार्यदल

फाइल फोटो


सागर न्यौपाने
फागुन २, २०८१ शुक्रबार २२:३, काठमाडौँ

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सो निर्णय गरेको हो।

बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने र त्यसले देशैभरि अन्तर्क्रिया गर्ने निर्णय गरेको गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

त्यसका लागि शनिबारका लागि सत्तापक्षीय दलहरूको बैठक बोलाइएको छ।

‘शनिबार ११ बजे सत्तापक्षीय नेताहरूको बैठक बस्ने कुरा भयो’, लेखकले नेपालखबरसँग भने, ‘संविधान संशोधनका लागि कार्यादल बनाउने कुरा भयो। कार्यदलले देशभरि संयुक्त अन्तर्क्रिया गर्ने कुरा भयो।’

शनिबार बस्ने सत्तापक्षीय दलहरूको बैठकले सबै दलबीच अन्तरसंवाद गर्ने र सहमतिका साथ अघि बढ्ने निर्णय गर्ने उनको भनाइ छ।

शुक्रबार बसेको उच्चस्तरीय संयन्त्रको बैठक। तस्बिर : रासस

राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन मुस्किल परिरहेका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी थिए।

साथै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल उपस्थित थिए।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्‌मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भएको थियो।

एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो। यसअघि यसै साता दुईपटक संयन्त्रको बैठक सम्पन्न भएको थियो।

सरकारले ल्याएका ६ वटा अध्यादेश संसदका दुवै सदनबाट स्वीकृत गराउनुपर्नेछ। ती अध्यादेश सदनमा पेस भइसकेका छन्। तर, राष्ट्रिय सभामा अध्यादेश पारित गर्न आवश्यक बहुमत जुटाउन सरकारलाई हम्मे परिरहेको छ।

सरकारलाई समर्थन गरिरहेका दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad