राजनीति


प्रचण्डले संसद्‌मा बोल्दा ओलीको अनुपस्थितिप्रति पूर्वसभामुख रानाभाट र सापकोटा अचम्मित

प्रचण्डले संसद्‌मा बोल्दा ओलीको अनुपस्थितिप्रति पूर्वसभामुख रानाभाट र सापकोटा अचम्मित

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १०:४५, काठमाडौँ

प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिबाट पूर्वसभामुख तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा अचम्मित बनेका छन्। 

बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष समय लिएर सम्बोधन गरेका थिए।

उनले सम्बोधन गर्ने कुरा मंगलबार नै सार्वजनिक भइसकेको थियो। 

‘प्रधानमन्त्री भनेको सिंगो संसदको नेता हो,’ पूर्वसभामुख रानाभाटले नेपालखबरसँग भने, ‘प्रतिनिधि सभाको बैठक १८ माघमा सुरु भए पनि छलफलको सुरुवात बिहीबारबाट भएकाले बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुनुपर्थ्यो।’ 

यति महत्त्वपूर्ण अवसरमा प्रधानमन्त्रीको अनुपस्थितिलाई पूर्वसभामुख रानाभाटले विश्वको संसदीय इतिहासकै अनौठो घटना मानेका छन्। 

‘ओलीले जे गर्नुभयो, नेपालको संसदीय प्रजातन्त्रको इतिहासमा उहाँबाहेक अन्य प्रधानन्त्रीले यस्तो गरेको जानकारी मलाई छैन,’ रानाभाटले भने, ‘उहाँको अनुपस्थिति संसदीय लोकतन्त्रका लागि त्यति राम्रो सन्देश होइन।’  

निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाका भनाइमा, प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने दिन प्रधानमन्त्रीको अनुपस्थिति संसदको अपमान हो।

‘प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा प्रचण्डले संसदमा सम्बोधन गर्ने कुरा सार्वजनिक भइसकेको थियो,’ पूर्वसभामुख सापकोटाले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने दिन प्रधानमन्त्री ओली किन आउनुभएन, त्यो उहाँले जान्ने कुरा भयो। तर, उहाँको यो व्यवहारबाट सिंगो संसदको अपमान भएको छ।’

सापकोटाका अनुसार, प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा बोल्ने योजना छ भने सम्बन्धित दलको प्रमुख सचेतकले सभामुखलाई जानकारी गराउँछन्। सोही अनुसार सभामुखले सम्बोधनको समय उपलब्ध गराउँछन् र कार्यसूची तयार गर्छन्।’   

‘प्रधानमन्त्री सिंगो संसदको नेता हो। त्यसैले, प्रधानमन्त्रीलाई संसद सचिवालयले सदनको सम्पूर्ण कार्यसूचीबारे जानकारी गराएको हुन्छ, कार्यपालिका (प्रधानमन्त्री वा सरकार) ले नै व्यवस्थापिकालाई बिजनेस दिने भएकाले प्रतिनिधि सभामा के हुँदै छ भन्ने जानकारी प्रधानमन्त्रीलाई हुन्छ,’ पूर्वसभामुख सापकोटाले भने, ‘यस्तोमा संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको सम्बोधन हुँदै छ भन्ने जानकारी प्रधानमन्त्रीलाई नहुने भन्ने हुँदैन।’

‘संसदीय प्रजातन्त्रको जननी मानिने बेलायतमा प्रमुख प्रतिपक्षी दलको नेताले बोल्दै छन् भने अति महत्त्वपूर्ण कार्यक्रमसमेत छाडेर प्रधानमन्त्री संसदमा उपस्थित हुने गरेको इतिहास छ,’ सापकोटाले थपे, ‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने दिन संसदमा प्रधानमन्त्रीको उपस्थिति संसदीय परम्परा र संस्कारभित्रै पर्ने कुरा हो।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad