राजनीति


चितवन अदालतमा रविको बयान सकियो, थुनछेक बहस सुरु

चितवन अदालतमा रविको बयान सकियो, थुनछेक बहस सुरु

नेपालखबर
माघ २३, २०८१ बुधबार १६:३६, काठमाडौँ

जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ। सहारा चितवन सहकारीमा अभियोग दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा हाजिर भएका थिए। 

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि आजै थुनछेक बहस सुरु भएको हो। अहिले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रवि न्यौपानेले बहस थालेका छन्। आजै थुनछेक बहस नसकिए मुद्दा हेर्दाहेर्दैमा रहनेछ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार मात्र चितवन अदालतमा मुद्दा दर्ता भएको थियो। सहारा सहकारी प्रकरणमा भने रवि लामिछानेलाई ठगीको अभियोग मात्र लगाइएको छ।

जम्मा ३२ प्रतिवादीमध्ये रविसहित २० जनालाई ठगीमा मात्रै र १२ जनालाई ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ।  रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए। उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ।

गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको छ। यो रकम सेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ।

यीमध्ये रविबाहेकका प्रतिवादीहरूको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको छ। उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ।

प्रतिवादीहरू जीबी भन्ने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आषिश आनन्द, भुपेन्द्र राई, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दिपक लामा र नेत्रपाणी बास्तोलालाई संगठित अपराध र ठगीको कसुरमा सजाय माग गरिएको छ।

तर वीरबहादुर रानाभाट, छत्रमणि भट्टराई, दिपा न्यौपाने, शिव प्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, रवि लामिछाने, रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, कबिता तामाङ, नविन अछामी, भगवती बम्जन, असरफ अलि सिद्दिकी, विज्ञान राई, लक्ष्मीप्रसाद पौडेल, प्रगती श्रेष्ठ र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङलाई ठगीमा मात्रै प्रतिवादी बनाइएको छ।

यसअघि रविलाई पोखराको सूर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा भने ठगी र संगठित अपराधमा पनि मुद्दा चलाइएको थियो। यी तीन सहकारीमा उनी धरौटीमा रिहा भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad