राजनीति


'प्रदेश सरकारको औचित्य पुष्टि गर्न अझै सकिएन'

'प्रदेश सरकारको औचित्य पुष्टि गर्न अझै सकिएन'

नेपालखबर
माघ २२, २०८१ मंगलबार १८:२९, पोखरा

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य अझै पुष्टि नभएको स्वीकारेका छन्। उनले औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने धारणा पनि राखे।

प्रदेश प्रमुख भट्ट मंगलबार गण्डकी प्रदेश सरकारको आठौं स्थापना दिवस समारोहमा बोल्दै थिए। प्रदेश सरकारले २०७४ साल माघ २२ गते पहिलोपटक प्रदेशसभा बैठक बसेको दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाएको हो।  

‘नागरिकसामु जिम्मेवार भई उहाँहरूका अपेक्षा तथा चाहना गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारले आ-आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रही पूरा गर्न सक्नुपर्छ,’ उनले भने,‘प्रदेशसभा र प्रदेश सरकार आ-आफ्नो संस्थाको संस्थागत विकासका लागि कानुनी आचारसंहिताको पूर्ण पालना, हालसम्मका अनुभवहरू मध्ये असल अभ्यासको अनुशरण, वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरूलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको छ।’ 

व्यवस्थाप्रति प्रहारका स्वर मुखरित : मुख्यमन्त्री 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रति प्रहार गर्ने स्वरहरू मुखरित हुन थाले पनि आत्तिने अवस्था नभएको बताएका छन्। 

‘लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सौन्दर्य नै यही प्रणालीको परिमार्जन र सुधार हो,’ उनले भने्,‘नकारात्मक सोचलाई बदल्दै सकारात्मक सोच र आत्मविश्वासका साथ सामूहिक प्रयत्नबाट नै मूलुकमा देखिएका समस्याको समाधान गर्न सकिन्छ।’

उनले मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच भएको पछिल्लो राजनीतिक समीकरणले नागरिकमा आशाको संचार गराएको जिकिर पनि गरे। सुशासन, सेवा प्रवाह, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण, शासनमा नागरिकको पहुँच अभिवृद्धिमा सरकार सदैव दृढ र प्रतिबद्द रहेको उनको भनाइ थियो। उनले प्रदेश स्थापनाको  ७ वर्षको अवधिमा भौतिक र कानुनी आधार निर्माण गर्दै अधिकारका लागि संघ सरकारसँग जुधिरहनुपरेको दुखेसो पनि पोखे। 

‘गण्डकी प्रदेश सरकारको अग्रसरतामा राष्ट्रिय समन्वय परिषद र अन्तरप्रदेश मुख्यमन्त्रीको पहिलो बैठकले प्रहरी समायोजन, वित्तीय समानीकरण, निजामती कर्मचारी ऐन, विद्यालय शिक्षा ऐन, जग्गा प्राप्तिलगायत विषयमा साझा धारणा तय भएको थियो,’उनले भने,‘ तर कार्यान्वयनमा खासै प्रगति हुन सकेको छैन। जसका कारण जनअपेक्षा अनुरुप कार्य गर्न कठिनाइ रहेको छ।’ 

उनले गण्डकी सरकारले हालसम्म विभिन्न ७२ कानून, २५ नियमावली र अन्य आवश्यक मापदण्ड जारी गरी कानूनी तथा सांगठनिक पूर्वाधारको दरिलो स्वरूप निर्माण गरेको तथा केही कानून बनाउने क्रममा रहेको  पनि जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा दलित सशक्तिकरणका लागि कानून निर्माण प्रक्रिया अगाडि बढाइएको छ। 

प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले ’आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सोच अनुरुप प्रादेशिक विकास तथा रुपान्तरणका १४ प्रमुख क्षेत्रको पहिचान गरिएको उनको भनाइ थियो। चालु आर्थिक वर्षमा ३९ वटा स्थानीय तहहरूसँगको साझेदारीमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम सुरु हुनु अर्को उपलब्धि रहेको उनको जिकिर थियो। यस्तै क्यान्सर, पक्षघात जस्ता घातक रोगबाट पीडित नागरिकको उपचारमा गरिएको एक लाखसम्मको सहयोग, सुत्केरीको हवाइ उद्दार एवं उत्पादनमा आधारित अनुदानजस्ता कार्यक्रमलाई प्रदेशका राम्रा कार्यक्रमको रुपमा अर्थ्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad