राजनीति


अखिल क्रान्तिकारी चुनाव : उम्मेदवार केहीको भावुक सन्देश, केहीको भिडिओ

अखिल क्रान्तिकारी चुनाव : उम्मेदवार केहीको भावुक सन्देश, केहीको भिडिओ

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १९:३६, काठमाडौँ

अखिल क्रान्तिकारीको नेतृत्वमा रहेका उम्मेदवारहरुले प्रचारशैलीमा विविधता अपनाएका छन्।

३२ वर्षे उमेर हद लगाएपछि पहिलो पटक युवा नेताहरु प्रतिस्पर्धामा उत्रिएका हुन्।

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। अब अध्यक्षमा ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।

उम्मेदवारी दिएकामध्ये केही प्राविधिक क्षेत्र (इन्जिनियर) छन्। क्रान्तिकारीको अध्यक्ष पदमा विजयप्रकाश सापकोटा, हेमन्त राई, उपदेश यादव, सुदिन पौडेल, योगेन्द्र बुढा प्रतिस्पर्धामा छन्।

यस्तै, सञ्जयकुमार महतो, तिर्सना हमाल, गोविन्द बानियाँ, श्याम रोका, रोशन थापामगर, सञ्जिव फुयाल, प्रतीक कार्की र पदम काफ्लेले महासचिवमा उम्मेदवारी दिएका छन्। 

सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका उम्मेदवारहरुले भोट खसाल्ने प्रतिनिधिलाई भिडियोदेखि भावुक सन्देश पठाएका छन्। केहीले आफ्ना कार्ययोजना प्रस्तुत गरेका छन्।

फरक प्रचार शैली अपनाउनेमध्येमा अग्रपङ्तिमा छन् हेमन्त राई। 

उपमहासचिव एवं कोशी प्रदेश अध्यक्ष समेत रहेका राईले मतदाता विद्यार्थीलाई सन्देश पठाउँदै सहयोग मागेका छन्।

‘हामीसँग पूर्ण र बेनोज लगायत विद्यार्थी नेताहरुले दिएको शक्तिशाली सन्देश, प्रतिरोधी गौरवशाली इतिहास छ,’ राईले सन्देशमा भनेका छन्, ‘त्यो इतिहासको नियमित कार्यभारलाई निरन्तरता दिँदै अखिल क्रान्तिकारीलाई ज्यूँदो, सवल बनाउनुछ। शैक्षिक र गणतान्त्रिक आन्दोलनमा सडक बाघको प्रतिक बनेको यो संगठन अब रचना, सिर्जना र नवप्रवर्तनको केन्द्र बन्नुपर्छ।’

राईले आफ्नो टीममा रहेका उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहितका उम्मेदवाहरुबारे सन्देशमै उल्लेख गरेका छन्।

‘शहीद परिवार, वेपत्ता, घाइते भएका, समावेशी क्लस्टर मिलाएर सबै भूगोलबाट प्रतिनिधित्व हुनेगरी विभिन्न विद्यार्थी नेतालाई उठाएको छु’, राईले लेखेका छन्।
भोजपुर घर भएका राईले अर्थशास्त्रमा एमए गरेका छन्। 

उनले क्रान्तिकारीलाई ६ महिनाभित्र नसोचेको परिवर्तन गराउन सक्ने कार्ययोजना प्रस्तुत गरेका छन्। उनको पत्र सन्देश क्रान्तिकारीभित्र चर्चाको विषय बनेको छ।

यसैगरी, अध्यक्षका अर्का उम्मेदवार सुदिन पौडेलले स्टाटस, मेसेज पठाएर मत मागिरहेका छन्।

क्रान्तिकारीको उपमहासचिव एवं गण्डकी प्रदेश अध्यक्ष रहेका ३१ वर्षे पौडेलले उनलाई मत दिनुपर्नाका ६ वटा कारण उल्लेख गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा उनी बढी सक्रिय छन्। फेसबुकमा उनले घण्टा घण्टामा पोष्टर पोष्ट गरिरहेका छन्।

यसैगरी, अध्यक्षका अर्का उम्मेदवार वर्तमान सकिव उपदेशकुमार यादवले पनि फेसबुकबाटै मत मागेका छन्। त्यसबाहेक मतदातासँग प्रत्यक्ष जोडिन विभिन्न विद्यार्थी नेताको समूह बनाएका छन्। त्यसमै मत मागेका छन्।

विजयप्रकाश शर्मा सापकोटा पनि अध्यक्षका उम्मेदवार हुन्। 

३२ वर्षे उमेर हद लगाएपछि बाहिरिएका केही विद्यार्थी नेताले उनलाई साथ दिएको बताउँछन्। 

यसबाहेक माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले उनलाई साथ दिएको क्रान्तिकारीभित्र चर्चा छ। 

विजयले फेसबुकमै आफ्ना योजना सार्वजनिक गरेका छन्।

यस्तै, अर्का अध्यक्ष उम्मेदवार योगेन्द्र बुढाको फेसबुक लक गरिएकोले उनका गतिविधि सामाजिक सञ्जालमा सबैले हेर्ने गरी पब्लिक गरिएको छैन। 

को कति शक्तिशाली?
पहिलो पटक ३२ वर्ष मुनिकाबीच चुनाव भएकोले उनीहरुको शक्ति परीक्षण हुनै बाँकी छ।

तर, उम्मेदवारमध्ये सबैलाई माओवादी केन्द्रका पदाधिकारीले साथ दिएका छन्। यतिसम्म कि मत माग्न पनि नेताहरुले आफ्ना टीम नै खटाएका छन्।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपदेश यादवलाई साथ दिएका छन्। यादवले पुरै सेट उठाएका छन्। 

उपमहासचिवत्रय जनार्दन शर्माले हेमन्त राईलाई समर्थन गर्दा वर्षमान पुनले सुदिन पौडेललाई साथ दिएका छन्।

शक्ति बस्नेतले विजयप्रकाश शर्मा सापकोटाको पक्षमा माहोल बनाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad