संघीय सांसद तथा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले एमाले नेतृत्वको सरकारप्रति नागरिक सन्तुष्ट रहेको बताएका छन्।
शुक्रबार (आज) हेटौंडामा आयोजित दूग्ध विकास संस्थान कर्मचारी संगठन नेपालको १२ औं केन्द्रीय अधिवेशनमा बोल्दै सचेतक बर्तौलाले कांग्रेस र एमालेको गठबन्धन मिलेर बनेको एमाले नेतृत्वको सरकारले माओवादीले गरेको अराजकतालाई चिर्दै नागरिकको सन्तुष्टी बटुल्ने काम गरिरहेको बताएका हुन्।
माओवादीले दुई ठूला दलको काँध चढेर सरकारको नेतृत्व गर्ने अवसर पाएको बेला अराजकता बढेको उनले बताए। माओवादीले देशको नेतृत्व गरेका बेला मुलुक नै असफल हुने हो कि भन्ने चिन्ताको अवस्था सिर्जना भएकोले दुई ठूला दल मिल्नुको विकल्प नभएको बताएका हुन्।
‘माओवादीले कहिले कांग्रेसको काँध चढेर देशको नेतृत्व गर्यो, कहिले एमालेको काँध चढेर नेतृत्व गर्यो,’ उनले भने, ‘यो अवस्थामा मुलुक नै असफल हुने हो कि भन्ने परिस्थिती विकास भएपछि संसदका दुई ठूला दलहरूले काँध थापेर अरु कसैलाई बचाउने अवस्था रहेन। आफैले सिंगो मुलुकको चुनौती लिएर अवसरमा बदल्नका लागि जवाफदेही ढंगबाट काम गर्नुपर्ने स्थिती निर्माण भयो।’
उनले थपे, ‘दुई ठूला दल सरकारमा सँगै भए पनि २०८४ को आम निर्वाचनको लागि घोषित प्रतिस्पर्धी हौँ। एक्ला एक्लै चुनाव लड्ने घोषणा गरेरै तीन वर्ष बरालिएको अर्थतन्त्र ट्रयाकमा ल्याउने, बढ्नो निराशालाई आशामा बदल्नका लागि प्रयत्न गर्ने काम गर्नेछौं।’
वर्तमान सरकारले गरेका कामप्रति नागरिकहरुमा एकप्रकारको सन्तुष्टी देखिएको मुख्य सचेतक बर्तौलाले बताए।
Shares

प्रतिक्रिया