प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल वर्ग र आफूहरुबीचका भेद छुट्याउन समेत गाह्रो भएको भन्दै आफूहरु धेरै बिग्रिएको बताएका छन्।
आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘दलाल र नोकरशाही बर्ग र हाम्रो भेद छुट्टिन गाह्रो भयो,’ उनको भनाइ छ, ‘हामी कतै-कतै बिग्रेका छौँ।’
प्रचण्डले पहिले आफैभित्रबाट रुपान्तरण भएर मात्र अरुलाइ सम्झाउन सकिने बताए। उनले सबै केन्द्रीय सदस्यहरुले आगामी फागुन १ भित्र स्रोतसहित सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने प्रस्ताव समेत गरेका छन्।
यथास्थितीमा पार्टी अगाडि बढ्न नसक्ने जिकिर गरेका उनले पार्टी गुटबन्दीतिर जानु राम्रो नभएको समेत बताए। ‘यथास्थितीको गोलचक्करमा रुमलिएर पार्टी अगाडि बढ्न सक्दैन,’ प्रचण्डको भनाइ छ, ‘अराजकतातिर, गुटबन्दीतिर जाने कुरा राम्रो होइन।’
सरकारमा रहँदा सुशासनको पक्षमा सकरात्मक पहल गर्न खाजेको र अहिले आफूहरुका पक्षमा सकरात्मक वातावरण बनेको बताएका प्रचण्डले अब त्यसलाई संगठनको शक्तिमा बदल्नुपर्नेमा जोड दिएका छन्।
‘हामी केही सकारात्मक पहल गर्न खोज्यौं सुशासनको पक्षमा,’ उनको भनाइ छ, ‘आर्थिक विघटनको, आतंककोविरुद्ध र समृधिको पक्षमा केही गर्न खोज्यौं। यो बैठकबाट कार्ययोजना बनाएर जनतामा देखिएको सकारात्मक ‘भाइबस’लाई संगठनात्मक रुपमा बदल्नु पर्नेछ।’
आफूहरुको बैठकमा ‘प्रतिक्रियावादी’को ध्यान रहेको र पार्टी फुटोस भन्ने उनीहरुले चाहेको भन्दै प्रचण्डले भने, ‘यो बैठकमा प्रतिक्रियावादीको ध्यान छ। फुट होस् , बिबाद होस् भन्ने चाहन्छन।क्रान्तिकारीहरुको चाहना माओवादीले राम्रो निर्णय गरोस् भन्ने छ।’
उनले थपे, ‘पार्टीलाई एकीकृत गर्नुको कुनै विकल्प छैन।’
Shares

प्रतिक्रिया