राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्।
रविलाई हिरासतमुक्त बनाउन रास्वपाका कार्यकर्ताले सडक तताए। तर, आन्दोलनले गति नलिएपछि सो पार्टीका नेताहरूले सत्तारुढ नेतालाई भेटेर हारगुहार पनि गरे।
यही क्रममा रास्वपा नेताहरूले खबर पाए, रविसँग प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट छन्। पहिलोपटक सरकारमा सहभागी हुँदा आफूले नै उपप्रधान तथा गृहमन्त्री बनाउँदा पनि रविले आफूविरुद्ध चर्को अभिव्यक्ति दिएको भन्दै ओली क्रुद्ध बनेका थिए।
त्यसपछि फकाउन रास्वपाका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेट्ने समय मागे। प्रधानमन्त्री ओलीले कात्तिक १२ गते अपरान्हको समय दिए।
रास्वपाले कात्तिक १३ गते बालुवाटर क्षेत्रमा प्रदर्शन कार्यक्रम राखेको थियो। त्यसअघि नै ओली भेट्न बालुवाटार पुगे– उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियार।
जबकि, रवि पक्राउको विरोधमा सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्न बनेको आन्दोलन सञ्चालन मूल समितिको नेतृत्व अर्यालले नै गरिरहेका छन्।
लामो समय कुरेर उनीहरूले प्रधानमन्त्री ओलीलाई भेटे। तर, ओलीबाट सकारात्मक जवाफ भने पाउन सकेनन्।
अर्यालको ब्रिफिङ सुनेका रास्वपाका एक नेताले नेपालखबरलाई बताएअनुसार तीनवटा कुरामा ओलीले आक्रोश पोखेका थिए।
‘चार घण्टा कुरेर दुई घण्टा पीएमसँग छलफल भयो। उहाँ एक घण्टा ४५ मिनेट बोल्नुभयो,’ अर्यालको भनाइ सुनेका ती नेताले भने, ‘चितवनमा उहाँविरुद्ध पुत्ला जलाउने काम भएकोप्रति निकै असन्तुष्टि जनाउनुभयो।’
अदालतले रविलाई पहिलोपटक कात्तिक ४ गते थप अनुसन्धानका लागि म्याद थप गरेको थियो।
त्यसप्रति असन्तुष्ट रास्वपाका कार्यकर्ताले चितवनमा प्रधानमन्त्री ओलीको कात्तिक ५ गते विरोध र्यालीसहित पुत्ला जलाएका थिए।
कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका रविले ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए।
‘सभापति रविले सरकार मर्यो हामीलाई जुठो पर्यो! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी? तपाईं बिचौलियाको सेवा गरेबापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने भनेर फेसबुकमा लेखेको कुरालाई लिएर पीएमले असन्तुष्टि जनाउनुभयो,’ अर्यालको भनाइ उधृत गर्दै ती नेताले थपे।
अर्याल र परियारसँग ओलीले संसदीय छानबिन समितिको निर्णय कार्यान्वयन मात्र गराएको जवाफ दिँदै रास्वपाकै सांसदप्रति प्रश्न उठाए।
‘संसदीय विशेष समितिमा रास्वपाकै सांसद थिए, उनैले आफ्नै सभापति रवि दोषी करार हुँदा प्रतिवेदनमा हस्ताक्षर गर्ने अनि सरकारले प्रतिशोध साँधेको भनेर हामीलाई आरोप लगाउने?’ ओलीको भनाइ थियो।
‘उहाँले तीन विषयमा आपत्ति जनाउनुभयो, हामी १५ मिनेट आफ्ना कुरा राखेर निस्कियौँ,’ अर्यालले भनेका थिए।
रास्वपाको कात्तिक १३ गते अपरान्ह सचिवालयको बैठक बसेको थियो। सो बैठकमा पनि ओलीसँगको भेटबारे अर्यालले जानकारी दिइएको अर्का नेताले जानकारी दिए।
परियारले कात्तिक १३ गतेको बालुवाटार आन्दोलनको विषयमा अनेक खालका हल्ला चलेपछि त्यसबारे यथार्थ जानकारी दिन प्रधानमन्त्री भेटेको दाबी गरेका थिए। तर, यो भेटघाटले रास्वपाभित्रै असन्तुष्टि बढाएको छ।
कात्तिक १० गते रास्वपाले उपसभापति अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन समिति र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक संवाद समिति बनाएको थियो। तर, वाग्लेलाई थाहै नदिई अर्यालले प्रधानमन्त्री ओली भेटेपछि सो पार्टीमा विवाद देखिएको हो।
रविलाई मंगलबार तेस्रोपटक म्याद थप गरिएको छ। पोखराको सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएपछि उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ।
सहकारीका बचतकर्ताको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेकोले दोषी रहेको जनाउँदै संसदीय छानबिन विशेष समितिले कारबाहीको लागि सिफारिस गरेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर काठमाडौँबाट पोखरा लगेको थियो।
Shares

प्रतिक्रिया