कास्कीमा क्रियाशील राजनीतिक दलहरुले कोरोना भाइरस (कोभिड १९) को सन्त्रास बढेकाले दलहरु तथा संघ-संस्थाका भेला, गोष्ठी र सम्मेलन स्थगित गर्न आग्रह गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेसका सभापति कृष्ण केसी, समाजवादीका अध्यक्ष गिरिप्रसाद गुरुङ, जनमोर्चाका अध्यक्ष शंकर बराल,राप्रपा कास्कीका कार्यवाहक अध्यक्ष गणेश ढकालद्वारा शनिबार जारी विज्ञप्तिमा जोखिमसँग सतर्कता अपनाउन एक आपसमा हात नमिलाउने, धेरै भीडभाडवाट टाढा रहन र विद्यार्थीको परीक्षाका विषयमा उपयुक्त समय मिलाएर व्यवस्था गर्न आग्रह पनि गरिएको छ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नोवेल कोरोना भाइरस (कोभिड १९) बाट जनतामा त्रास फैलिएको, यसैका नाउँमा अनियन्त्रित मूल्यवृद्धि गर्ने, दैनिक उपभोग्य सामानहरुको अभाव सिर्जना गरी विचौलियाहरु सक्रिय भएको अवस्थाप्रति चासो देखाएको छ।
बैठकले संक्रमणको रोकथामका लागि कास्कीमा रहेका स्वास्थ्य संस्थाहरुलाई सक्रिय गराई यसको नियन्त्रण, रोकथाम र जनचेतनाका लागि संघ, प्रदेश र स्थानीय तह ३ वटै तहका सरकारको ध्यानाकर्षण पनि गराइएको छ।
कोरोनाबारे सचेतता फैलाउँदै रेस्टुरेन्ट
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको ट्रेजर लाउञ्ज एन्ड बारमा आउने ग्राहकहरुको ज्वरो परीक्षण गर्न थालिएको छ। कोरनाको सन्त्रासले संसार हल्लाएको बेला ट्रेजरले बारमा छिर्ने हरेक ग्राहकको शरीरको तापक्रम परीक्षण तथा हातमा सेनेटाइजर प्रयोगलाई अनिवार्य बनएको छ।
‘हामीले सचेतता अपनाउँदै जर्मनबाट ल्याइएको मेसिनले ग्राहकको शरीरको तापक्रम मापन गर्ने तथा बारमा छिर्दा र निस्कँदा सेनेटाइजर प्रयोगको व्यवस्था मिलाएका हौँ’, ट्रेजरका सञ्चालक किरण बरालले भने,‘ १ सय डिग्री सेल्सियसभन्दा माथि तापक्रम भएका जो कोहीलाई पनि हामी रेस्टुरेन्टमा प्रवेश दिँदैनौँ।’
पछिल्लो समय संगीत र मनोरञ्जन चाहनेहरुको प्रमुख गन्तब्य बनेको ट्रेजरले पोखरामै पहिलो पटक यस्तो परीक्षणको व्यवस्था मिलाएको हो।
विदेशीहरुको बाक्लो उपस्थिति हुने लेकसाइड क्षेत्रमा कोरोनाबारे जानकारी दिने र सचेतता जगाउने सम्भवत् यो पहिलो अभियान हो।

प्रतिक्रिया