राजनीति


विश्वासको मत लिएर मात्रै कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने

विश्वासको मत लिएर मात्रै कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार १४:९, काठमाडौँ

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि मात्रै पद छाड्ने अडान लिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रको निर्णयअनुसार पद छाड्न निर्देशन दिएपछि मुख्यमन्त्री शर्मा विश्वासको मत लिइछाड्ने पक्षमा देखिएका छन्।

विश्वासको मतका लागि प्रदेश संसद् सचिवालयमा पत्राचार गरेर मंगलबार दिउँसो ३ बजेका लागि समय पनि तोकिएकाले अब पछि हट्न नसकिने पक्षमा मुख्यमन्त्री शर्मा देखिएका हुन्।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर केही समयपछि पद छाड्न सकिने बताएपछि अहिले उनको सरकारी निवास ईत्राममा एमाले र माओवादीका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ। 

केन्द्रको सत्ता गठबन्धनमा कर्णाली सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन्। 

मंगलबार बिहान ११ बजेदेखि नै माओवादी केन्द्रका नेताहरूबीच आन्तरिक छलफल चलिरहेको छ। 

‘मुख्यमन्त्री विश्वासको मत लिने अडानमै हुनुहुन्छ। फिर्ता हुने सम्भावना अहिलेलाई छैन। दिउँसो ३ बजे विश्वासको मत लिने पक्षमै मुख्यमन्त्री हुनु हुन्छ’, कर्णालीमा माओवादी सांसद मंगलबहादुर शाहीले नेपालखबरलाई भने, ‘एमालेले पनि उहाँलाई विश्वासको मत दिन्छ। हामीले पहिले विश्वासको मत लिएपछि पार्टी केन्द्रको निर्णय कार्यान्वयन गर्न तयार छौँ। त्योभन्दा अगाडि विश्वासको मत लिन संसद्मा अनुरोध गरिसकेकाले नरोकौँ भन्ने हाम्रो कुरा हो।’

उनले विश्वासको मत लिइसकेर पार्टी केन्द्रको निर्णय कार्यान्वयनमा जाने गरी मध्यमार्गी बाटो खोजेर एमालेको नेतृत्वसँग छलफल भइरहेको बताए। 

‘यसले पार्टी केन्द्रले गरेको निर्णय कार्यान्वयनमा सहजता पैदा गर्छ। विश्वासको मत लिइसकेपछि उहाँले पद छाड्ने गरी मध्यमार्गीबाटो रोजिएको हो’, उनले भने,‘मुख्यमन्त्री शर्माले पद छाड्न केही समय लाग्ला। तर हामी केन्द्रको निर्देशन कार्यान्वयन गर्छौँ।’ 

उनले विश्वासको मतका लागि कांग्रेसले साथ लिने कुराबारे अहिले केही नसोचिएको बताए। ‘अहिले हामी त्यतातिर प्रवेश गरेका छैनौँ। एमालेलाई हाम्रो अडानमा ल्याउने प्रयास भइरहेको छ’, उनले भने, ‘अहिलेलाई यो भन्दा अर्को विकल्पमा जान सकिँदैन।’

यसैबीच माओवादीको अन्तरिक छलफल निष्कर्षविहीन भएको छ। माओवादीको छलफल निष्कर्षविहीन भएपछि एमाले र माओवादीको संयुक्त बैठक बसेको छ। 

छलफलमा माओवादीका कर्णाली इन्चार्ज कालीबहादुर मल्ल, एमालेका कर्णाली इन्चार्ज लेखराज भट्ट, माओवादी नेता महेन्द्रबहादुर शाही, मुख्यमन्त्री राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेल सहभागी छन्।

एमाले कर्णाली प्रदेश सभा संसदीय दलले नेकपा माओवादी केन्द्रको निर्णय कुरिरहेको बेला दुवै दलका नेताहरूबीच मुख्यमन्त्री निवासमा छलफल भइरहेको छ। तर दुई दलले कुनै निर्णय गरिसकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .