ad ad

राजनीति


इलाम २ को उम्मेदवार टुंग्याउँदै रास्वपा, पहिलो नम्बरमा ३२ वर्षीय लिम्बू

इलाम २ को उम्मेदवार टुंग्याउँदै रास्वपा, पहिलो नम्बरमा ३२ वर्षीय लिम्बू

सोमबार (चैत १२)बिहान सभापति रवि लामिछानेले मिलन लिम्बूलाई फोन गरेर सहकार्यको प्रस्ताव राखेका छन् (तस्बिर : मिलनको फेसबुकबाट)


सागर न्यौपाने/रुपक चौलागाईं
चैत १२, २०८० सोमबार १९:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ को उपचुनावमा मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ। स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा खटिइसकेका मिलनलाई रास्वपाले आफ्नो दलमा ल्याउने भएको हो।

माओवादी त्यागेर गत चैत ४ गते मिलनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि रिक्त सो क्षेत्रमा रास्वपाले पनि पहिचान पक्षधर भनेर चिनिएका मिलनलाई अघि सार्ने भएको हो।

रास्वपाले यसको औपचारिक घोषणा भने आगामी १७ गते गर्नेछ। त्यसदिन सभापति रवि लामिछानेसहित पदाधिकारी इलाम २ पुग्दैछन्।

निरन्तर संवाद, इलाम २ को भूगोल, मतदाताको मनोविज्ञान र एमालेको उम्मेदवार चयन लगायतलाई विचार गरेर रास्वपा मिलनलाई अघि सार्ने निष्कर्षमा पुगेको सो पार्टीको उच्च स्रोतले बताएको छ।

एमालेले सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। 

उम्मेदवार चयनका लागि सहमहामन्त्री बुर्लाकोटीसहित ६ जना सांसद इलाम पुगेर ६ वटै पालिकाको वस्तुस्थिति अध्ययन गरेका थिए। 

सुहाङ नभएपछि मिलन
सो क्षेत्रमा २०७९ मंसिर ४ गतेको चुनावमा रास्वपाले राम्रो मत पाएको थिएन। त्यही भएर रास्वपाले चर्चित व्यक्तिलाई उम्मेदवार बनाउन कोसिस गरेको थियो।

सुवास नेम्वाङको निधन भएलगत्तै केही नेताहरू इलाम पुगेर चर्चित व्यक्तिको खोजी नगरेका होइनन्। उनीहरूले इलाम–२ का व्यवसायी, पत्रकार, वकिल, शिक्षक वा अन्य दलमा रहेका प्रभावशाली व्यक्तिहरूलाई पार्टीमा तान्ने कोसिस गरेका थिए।

उपयुक्त पात्र नभेटेपछि रास्वपाको रोजाइमा सुहाङ परेका थिए। तर, सुहाङलाई एमालेले कानुन विभागमा मनोनित गरेपछि त्यो ‘च्याप्टर क्लोज’ भएको थियो।

त्यसपछि रास्वपाले इलाममा जनमत भएका, चर्चित अनुहार खोजी गरेको थियो। नेताहरूको रोजाइमा पत्रकार समेत रहेका मिलन लिम्बू परेका थिए।

मिलनसँग रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल, सहमहामन्त्री  बुर्लाकोटी, सांसद सोविता गौतम लगायतले छलफल गरेका थिए।

मिलनले संघीयताका विषयमा पार्टीको प्रष्ट धारणा माग गरेपछि रास्वपा नेताहरू हच्किएका थिए।

तर, नेकपा एमालेले आइतबार (चैत ११) गते सुहाङ नेम्वाङलाई इलाम २ को उपचुनावको उम्मेदवार बनाउने निर्णय गरेपछि रास्वपाले मिलनलाई अघि सार्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ।

सोमबार बिहान सभापति रवि लामिछानेले मिलनलाई फोन गरेर सहकार्यको प्रस्ताव राखेका छन्।

मिलनसँगको संवाद सकारात्मक भएपछि रास्वपाको सोमबार सिंहदरबारमा कोर टिममा यसबारे छलफल भएको थियो।

‘मिलनजीसँग सभापतिजीको कुराकानीपछि सिंहदरबारमा नेताहरू बसेर एकखालको समझदारी बनाउनुभएको छ,’ रास्वपा उच्च स्रोतले नेपालखरबसँग भन्यो, ‘जातीय, पहिचान र युवा समेतलाई प्रतिनिधित्व गर्ने उपयुक्त पात्र उहाँ (मिलन) नै हुनुहुन्छ भन्ने निष्कर्ष छ।’

यद्यपि, रास्वपाले आन्तरिक चुनावबाट उम्मेदवार छनोट गर्ने बताएको छ। त्यसका लागि आगामी १७ गते सभापति लामिछाने इलाम जाँदैछन्। तर, रवि इलाम जानुअघि नै मिलनलाई चुनावी प्रचारमा लगाउने योजना छ।

रास्वपा सुरुमा अर्कै दलमा आबद्ध र पहिचानवादी भनेर चिनिएका नेतालाई उठाउने विषयमा केही समय हिच्किचाएको थियो। तर, स्थानीय तहबाटै पहिचानवादीलाई नै उठाउन सुझाव आएको सो पार्टीका नेताहरू बताउँछन्।

निरन्तर संवाद
मिलन लिम्बूसँग रास्वापाका केही नेता निरन्तर संवादमा थिए। उपसभापति डीपी अर्याल, महामन्त्री डा. मुकुल ढकाल, सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले उनीसँग टेलिफोन संवाद गरिरहेका थिए।

उनीहरूले कम्तीमा तीनपटक भेटेरै उनीसँग कुराकानी गरेका थिए। एकपटक रास्वपा दलको कार्यालय नयाँ बानेश्वरस्थित संसद् भवनमा पनि मिलनसँग छलफल गरे।

तर, अन्य दलको भएकोले रास्वपाले मिलनलाई उम्मेदवार बनाउने निर्णय गरिहाल्न चाहेन। उनीहरूले मिलनलाई राजनीतिक रुपमा आवद्ध सबै निकायबाट राजीनामा दिन सुझाव दिएका थिए।

सोही अनुसार उनले स्वतन्त्र लड्ने भन्दै केही साताअघि दलसँगको आबद्धता त्यागेको घोषणा गरेका थिए। त्यसपछि संवाद अझ अघि बढेको थियो। सभापति लामिछानेको सचिवालयले पनि मिलनबारे निकै चासो राखेको थियो।

‘हामीले मिलनजीलाई तपाईंलाई एक नम्बरमा राखेर छलफल गरेका छौँ भनेकै हो,’ रास्वपा स्रोतले थप्यो, ‘यो अवधिमा उहाँको गतिविधि पनि हेरिरहेका थियौँ। उहाँले कुनै दलमा नरहेको घोषणा गरेपछि झनै सहज भयो।’

को हुन् मिलन?
मिलन लिम्बूले १५ वर्ष पत्रकारिता क्षेत्रमा बिताएका छन्। मकालु टेलिभिजन हुँदै काठमाडौँको एबीसी र न्युज २४ मा काम गरेका उनी पछिल्लो तीन वर्षदेखि दृष्टि अनलाइन संस्करणको सम्पादक थिए।

३२ वर्षे मिलन इलाम–२ का स्थायी बासिन्दा हुन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका मिलनको परिवार सामान्य खेती किसानी गरिरहेको छन्।

आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय महासचिव समेत हुन उनी। केही साताअघि स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले आफूले इलामका स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्ने बताएका थिए। उनले आफूलाई ‘अकबरे उम्मेदवार’ समेत भनेका थिए।

लगत्तै, उनी निर्वाचन क्षेत्रमा पुगिसकेका छन्। इलामको माक्सेबुङमा बसोबास गर्दै आएका धर्मगुरु आत्मानन्द लिङ्देनको पनि उनले आशीर्वाद लिइसकेका छन्। लिङ्देनको पोल्टामा कम्तीमा ५ हजार भोट रहने चर्चा गरिन्छ।

कोसीमा चलिरहेको पहिचान पक्षधरको आन्दोलनको रापतापकाबीच लिङ्देनको भोटले पनि यो पटक असर पार्नसक्ने आम बुझाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .