ad ad

राजनीति


पूर्वमाओवादी घटक मिलाउने वर्षभरको प्रयास निष्फल भएपछि प्रचण्डले फेरे रणनीति

पूर्वमाओवादी घटक मिलाउने वर्षभरको प्रयास निष्फल भएपछि प्रचण्डले फेरे रणनीति

सागर न्यौपाने
चैत ४, २०८० आइतबार २१:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)को एक समूहबीच शनिबार (चैत ३ गते) एकता गर्ने सहमति भयो। 

नेसपाका एक अध्यक्ष महीन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवले माओवादीसँग एकताका लागि सहमति जनाए।

धेरै पहिलादेखि एकताको प्रयास भए पनि अध्यक्ष डा. बाबुराम भट्टराई सहमत नहुँदा रोकिएको थियो।

तर, भट्टराईलाई छाडेर एउटा समूह माओवादीसँग मिसिएको छ। माओवादीमा मिसिनु उनीहरूको बाध्यता पनि थियो। किनभने, माओवादीकै एउटै चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडाबाट सांसद बनेका थिए।

महीन्द्र राय यादव संघीय सांसद छन्। सर्लाही २ बाट निर्वाचित भएका हुन्। यस्तै, सहअध्यक्ष गंगानारायण श्रेष्ठ सिन्धुलीबाट प्रदेश सांसद जितेका हुन्। 

‘प्राविधिक हिसाबले उहाँहरू माओवादीमै हुनुहुन्थ्यो, अब औपचारिक रूपमा यतै मिल्ने समझदारी बनिसकेको छ,’ माओवादीका एक पदाधिकारीले भने।

त्यसो त डा. बाबुराम भट्टराईलाई छाडेर गरिएको एकताले माओवादीमा खासै परिवर्तन पनि देखिएको छैन। 

‘उहाँहरू माओवादीकै चुनाव चिह्नबाट जित्नुभएको हो, दलको बैठकमा बसेर उता (नेसपा)को पार्टी निर्णय मान्न मिल्दैन थियो,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘एकता प्रक्रियामा आउनुभएका सबै साथीहरू संसदीय दलमा हुनुहुन्छ।’

माओवादीले फेरेको रणनीति 
पूर्वमाओवादी घटकबीच एकता गर्ने योजनासहित माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरासहितका नेतालाई जिम्मेवारी दियो। २०७९ फागुनदेखि एकता प्रयास पनि भयो। 

शान्ति प्रक्रियामा आएयता माओवादीबाट विभाजन भएर गठन भएका कम्तीमा पाँचवटा पार्टीबीच एकता गर्ने, अनि कम्युनिस्ट घटकबीचकै एकताको वातावरण बनाउने उनीहरूको योजना थियो।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलालको वैज्ञानिक समाजवादी पार्टी, प्रभु साहको आम जनता पार्टीलगायत पूर्वमाओवादी घटकसँग एकता गर्ने भन्दै माओवादीले विशेष महाधिवेशनको घोषणा गरिसकेको थियो।

तर, एक वर्षदेखिको यो प्रयास सफल हुन नसकेपछि माओवादी केन्द्रले रणनीति फेरेको छ। 

‘कुनै पनि पार्टीका नेता, समूह, अंश वा सिंगो पार्टी माओवादीमा मिसिन आए वा प्रवेश गरे स्वागत गर्छौँ,’ ती पदाधिकारीले ठोकुवा गर्दै भने, ‘तर एकताकै लागि केही समय मरिमेटेर लाग्दैनौं। अब जनसम्बन्ध विस्तार गर्न खटिनेछौँ।’

पूर्वमाओवादी घटकसँग एकता गर्दा नामै परिवर्तन गर्न तयार भएको माओवादी किन रोकियो त?

‘मुख्य कुरा एकता गर्दा पनि जनमत बढ्ने अवस्था देखिएन,’ ती पदाधिकारीले थपे, ‘टुटेफुटेका पार्टी मिलाउन गरेको मेहनत जनताको घरघर पुग्न लगाउने हो भने पार्टीमा उत्साह पनि बढ्छ, नयाँ मान्छे पनि थपिने रहेछन्।’  

माओवादी नेताहरूकै भनाइमा, अहिले तात्कालिक कार्यनीति संगठन बलियो बनाउनु मानिएको छ। त्यसैले एकतालाई सहायक मानिएको छ। यसअघि एकतालाई प्रधान मानिएको थियो।

अब संगठन विस्तार गर्नुपर्ने निष्कर्षमा माओवादी नेतृत्व पुगेको छ।

चुनावमा राम्रो मत ल्याउन संगठन बलियो हुनुपर्ने निष्कर्षका साथ अहिले माओवादीले दुईवटा अभियान चलाउँदै छ–

एक, चैत १५ देखि ३० सम्म तराई–मधेस हुलाकी मार्ग अभियान।

दुई, वैशाख १५ देखि ३० सम्म हिमाल–पहाड र तराई क्षेत्र पर्ने गरी जनजागरण अभियान।
यसको मुख्य उद्देश्य संगठन विस्तार रहेको छ।

एक वर्षको निष्फल प्रयास
त्यसो त माओवादीले सत्ता गठबन्धनभित्रैका वाम घटक र केही पूर्वमाओवादी नेताहरूको समूह भेला पारी समाजवादी मोर्चाको अभ्यास पनि गरेकै हो।

कांग्रेससँगको सात दलीय गठबन्धन हुँदा माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टीसहितको समाजवादी मोर्चा बनेको थियो। 

गत असार ४ गते बनेको त्यो मोर्चा खासमा प्रचण्डका लागि सत्ता गठबन्धनभित्र कांग्रेसलाई ‘साइज’मा राख्ने अस्त्र मात्र थियो।

फागुन २१ गते माओवादीले कांग्रेसहितको गठबन्धन छोड्यो र एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)सँग नयाँ गठबन्धन बनाएपछि मोर्चाको औचित्य नै समाप्त भयो।

माओवादी नेताहरूका अनुसार, सुरुमा समाजवादी मोर्चा बनाउने र त्यहीँबाट माओवादी घटकसँग एकता गर्ने योजना बनेको थियो। 

द्वन्द्वकालीन मुद्दाले प्रायः माओवादी घटकहरूलाई एक ठाउँमा ल्याउने गरेको थियो। संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा दबाब दिन पनि एकता आवश्यक रहेको उनीहरूको बुझाइ थियो। 

माओवादी उपाध्यक्ष महरा, महासचिव देव गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई र सहअध्यक्ष गंगानारायण श्रेष्ठबीच धेरैपटक संवाद भए पनि एकतासम्म पुग्न पाएन। 
एक वर्षको प्रयास निष्फल भयो।

‘जनमत घटेन, उत्साह पनि बढेन’
माओवादीले गत भदौदेखि पुसको बीचमा चार महिने विशेष रुपान्तरण अभियान चलायो।

संगठनको वास्तविक अवस्था पत्ता लगाउन भएको अभियानले पार्टी चलायमान गराएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले दाबी गरे। 
माओवादीको सदस्य नवीकरण उत्साहजनक भइरहेको उनको भनाइ छ।

नवीकरण संख्या हेर्दा जनतम घटेको छैन भन्ने बुझाइमा माओवादी नेतृत्व छ। तर, पार्टीमा उत्साह पनि बढेको छैन। सापकोटाले भने, ‘माओवादीलाई हिजोकै अवस्थामा ल्याउन थप अभियान र कार्यक्रम लिएर जनतामा जानुपर्ने निष्कर्षमा हामी पुगेका हौँ।’

नेपालभित्र मात्र होइन, मुलुकबाहिर विभिन्न देशमा रहेका नेपालीलाई संगठित गर्न माओवादीका नेताहरू लागेका छन्। 

उसले प्रवासअन्तर्गत भारत प्रवास, मध्यपूर्व प्रवास र युरोप प्रवास गरी तीनवटा प्रदेश बनाएको छ। उपाध्यक्ष पम्फा भुसाल (मध्यपूर्वी एसिया), उपमहासचिव मातृका यादव (भारत) र सचिव राम कार्की (युरोप) इन्चार्ज तोकिएका छन्।

माओवादी र एमाले मिल्छन्?
सत्ताको नेतृत्व गरेको माओवादी केन्द्र र एमालेबीच बनेको गठबन्धन ०८४ सम्म जाने नेताहरू दाबी गर्छन्। 

तत्कालका लागि नभई दुवै पार्टीले सजगतापूर्वक सहकार्य गरेको र तात्कालिक कार्यनीति बदलेको नेताहरूको भनाइ छ। 

गठबन्धन कहिलेसम्म टिक्छ भनेर ढुक्कसँग कुनै नेताले बताउन सकेका छैनन्। माओवादी नेतृत्व पनि गठबन्धनको भविष्य हेर्ने मुडमा देखिन्छ।

‘सुरुका तीन महिना हनिमुन पिरियडका रूपमा हेरौं, अनि गठबन्धन कति लामो समय जान्छ भन्न सकिन्छ,’ एक नेताले भने, ‘अहिले धेरै खुसी भइहाल्ने अवस्था देखिँदैन। ६ महिनापछि एमालेले कस्तो दाउपेच गर्छ भन्ने थाहा हुन्छ।’

कांग्रेसले गठबन्धन नगर्ने नीति महासमिति बैठकबाटै पारित गरेकाले आउँदो चुनावका लागि पनि एमालेसँगै गठबन्धन गर्नुपर्ने बाध्यता माओवादीले बुझेको छ। तर, आफ्नै संगठन नभए जोसँग गठबन्धन गर्दा पनि नजितिने रहेछ भन्ने पाठ पनि गत चुनावमा सिकेको छ।
त्यसैले जनतामा फर्कनुपर्ने निष्कर्ष माओवादीले निकालेको छ र स्थायी समिति बैठकले नेतालाई जनतामुखी बन्न निर्देशन दिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .