ad ad

राजनीति


एमालेबाट ३ नेताको नाम सिफारिस, यसअघि चुनाव लडेका ओखेडा परेनन्


गोकुल जोशी
फागुन २७ , कञ्चनपुर

नेकपा एमाले बझाङले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार चयनका लागि तीनजनाको नाम सिफारिस गरेको छ। 

एमाले बझाङका अनुसार उपनिर्वाचनमा उम्मेदवारका लागि दमन भण्डारी, राधा विष्ट र जुना जाग्रीको नाम सिफारिस गरिएको हो। 

भण्डारी एमाले बझाङका अध्यक्ष हुन। विष्ट एमाले जिल्ला कमिटी सदस्य हुन्। उनले यसपटक स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिकाको उपमेयरमा भिड्ने इच्छा गरेकी थिइन्। तर टिकट पाइनन्। 

उनै विष्ट यस पटक बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा उपनिर्वाचनमा उम्मेदवारका लागि सिफारिसमा परेकी हुन्। 

जाग्री २०७४ सालमा जयपृथ्वी नगरपालिकामा उपमेयरमा निर्वाचित भएकी थिइन्। प्रदेश सभा क्षेत्रीय निर्वाचन समन्वय कमिटीले उम्मेदवार सिफारिसका लागि मतदान गरेको थियो। 

एमालेबाट उपनिर्वाचन उम्मेदवारका लागि भण्डारी, विष्ट, जाग्रीसहित यसअघिको प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका अफिलाल ओखेडा, गोकुल सिंह र  प्रयागराज जोशी पनि आकांक्षी थिए।

‘प्रदेश सभा क्षेत्रीय समन्वय समितिबाट सिफारिस भएर आएका नामलाई अनुमोदन गरेर प्रदेश कमिटीमा पठाएका छौँ,’ एमाले जिल्ला कमिटी अध्यक्ष दमन भण्डारीले भने, ‘सिफारिसमा २ जना महिलालाई समावेश गरेका छौँ।’

सुदूरपश्चिम प्रदेश कमिटीले फागुन ३० भित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको थियो। 

यसअघि प्रदेश सभामा चुनाव लडेका ओखेडा उम्मेदवारका लागि बलिया दाबेदार थिए। तर उनी प्रदेश सभा क्षेत्रीय निर्वाचन समन्वय कमिटी र जिल्ला कमिटीको सिफारिसमा परेनन्। 

निर्वाचन आयोगले अगामी १५ वैशाखमा उपनिर्वाचनको मतदान तोकेको छ। बझाङ १(१) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परेर निधन भएपछि रिक्त भएको सो क्षेत्रमा उपचुनाव भइरहेको हो।

फागुन २७, २०८० आइतबार १७:४४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .