राजनीति


पुन र शर्माको मिलेको लवज, संयोग कि सल्लाह?

पुन र शर्माको मिलेको लवज, संयोग कि सल्लाह?

सागर न्यौपाने
माघ २८, २०८० आइतबार २१:३८, काठमाडौँ

नेकपा माओवादी केन्द्रमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा एकअर्काका प्रतिस्पर्धी मानिन्छन्। प्रायः आन्तरिक शक्ति संघर्षमा उनीहरू आमनेसामने भएका देखिन्छन्।

तर, आइतबार (माघ २८) बसेको केन्द्रीय समिति बैठकमा उनीहरूको लवज र प्रस्तुति समान देखियो। कतिसम्म भने पार्टीको अवस्था र नेतृत्वप्रतिको धारणाका बारे उनीहरूले एकै खालको विश्लेषण सुनाए। पार्टीको समस्या के हो र के गर्दा सुधार हुन्छ भन्नेमा उनीहरूबीच लगभग समान धारणा देखियो।  

२०७९ मंसिरमा सम्पन्न स्थानीय र प्रदेश तथा केन्द्रको चुनावमा माओवादी कमजोर बनेको छ। त्यही विषयमा समीक्षा गर्दै पार्टीलाई चलायमान बनाउन माओवादीले विशेष रूपान्तरण अभियान भर्खरै (पुस १६ मा) समापन गरेको छ। 

बागमती प्रदेश इन्चार्ज रहेका शर्माले १३ जिल्लाको अवस्था र विशेष प्रदेश कमिटीका इन्चार्ज पुनले देशभरबाट उपत्यकामा बसोबास गर्ने नेता-कार्यकर्ता तथा सर्वसाधारणले माओवादी पार्टीप्रतिको धारणा प्रस्तुत गरेका थिए। 

प्रदेश, वैकल्पिक र केन्द्रीय सदस्य गरी झण्डै ८ सय नेता र कार्यकर्तासमक्ष पुन र शर्माले राखेको धारणा एकै खालको थियो।
२०७५ देखि २०८० साउनसम्म एकअर्काका प्रतिस्प्रर्धी रहेका पुन र शर्माको धारणा के थियो? बैठकमा प्रस्तुत धारणा हेरौं।

शर्माले ०६४ को उभारलाई जोगाउन नसक्दा माओवादीमा क्षयीकरण देखिएको बताए।  

बागमतीका खासगरी उपत्यकाभित्र अझै पनि माओवादी छिर्न नसकेको निष्कर्ष उनले सुनाए।

‘बागमती प्रदेशको सांस्कृतिक र सामाजिक संरचनाका आधारमा माओवादी काठमाडौंमा जोडिनुपर्ने हो। संघ–संस्थासँग जोडिएर जनतामाझ पुग्नुपर्ने हो,’ उनले भने, ‘मध्यम वर्ग, सहरबासी र सुकुम्बासीहरूसँग जोडिएमा मात्र पार्टी बन्छ।’

ठ्याक्कै यस्तै विश्लेषण पुनले पनि गरे।

विशेष प्रदेशबाट रिपोर्टिङ गरेका पुनले पार्टी फेरि उठ्न सक्ने दाबी गरे। त्यसका लागि उनले केही आधार दिए।

‘२०६४ मा ३१ लाख मतसहित हाम्रो पार्टी पहिलो बने पनि त्यसयता खिइँदै गएको छ,’ पुनले केन्द्रीय समिति बैठकमा भने, ‘यसको पहिलो कारण हामी मध्यम वर्गमा खिइँदै गएका छौँ। उनीहरूलाई हामीले आकर्षण पैदा गर्न सकेका छैनौं।’

शर्माले पनि करिब बहुमतनजिकको ०६४ सालको उभारलाई जोगाउन नसक्दा निरन्तर क्षति भोग्नुपरेको बताए। 

‘हामीले गरेको ६ दिने आमहड्तालले सहरमा नकारात्मक प्रभाव परेको रहेछ,’ शर्माले बैठकमा भने, ‘गाउँ छाडेर सहर पसेकाहरू, संघर्षका क्रममा लखेटिएकाहरूले पनि माओवादीप्रति सहरी मनोविज्ञान नकारात्मक बनाउन भूमिका खेले।’

समस्यामा मात्र होइन, पार्टी निर्माणको विषयमा समेत पुन र शर्माले उस्तै विश्लेषण सुनाए।

‘१० वर्षसम्म हामी किन यथास्थितिमा रह्यौँ त? ०५१ सालमा एमाले पनि पहिलो थियो। २०७० मा आएर कांग्रेस उक्लियो। कांग्रेस पनि १० वर्षपछि मात्रै ठूलो पार्टी बनेको हो’, पुनले भने, ‘हामी पनि अब पहिलो पाटी बन्न सक्छौँ। १२–१५ लाख मत थप्न सकिन्छ। यसो भयो भने हामी २०६४ को अवस्थामा पुग्न सक्छौँ।’

पुनले पनि २ दशकमा गरेका प्रयोग सफल नभएको विषयमा समीक्षा गर्नुपर्ने बताए। 

‘हामी मध्यमवर्गमा खिइँदै गएका छौँ। हामीले २ दशकयता गरेका केही प्रयोग सफल भएन। विधान सम्मेलन कोशेढुंगा हुन सक्छ। एकअर्कामा आरोप–प्रत्यारोप गर्ने काम छाडेर मिहिनेत गर्न सके अझै हामी पहिलो पार्टीमा उक्लिन सक्छौँ।’

उनले एमालेसँगको एकताले घाटा लागेको तथ्यमा देखाए।

‘२०६४ मा एक्लै माओवादीले ३१ मत पाएको थियो। तर एमालेसँग पार्टी एकतापछि (२०७४) ३४ लाख मत मात्रै आयो’ उनले भने ।
शर्माले सहरी क्षेत्रमा पार्टी निर्माणको सम्भाव्यता अध्ययन गरेको बताउँदै कार्यक्षेत्र केन्द्रित गरेको अभियान सफल बनेको दाबी गरे।
तर, वर्ग भुुलेको, पहिचान छाडेको, दलालीमा रमाएको, स्थानीय सरकारमा माओवादी नदेखिएको र जनवर्गीय मोर्चा प्रभावकारी नभएको उनले बताए।

‘केन्द्रीय सदस्यको मूल्यांकनको आधार तय भएको छ, अन्य पार्टीले मसेत माओवादीले फेरि केही गर्छ कि भनेर हेरेका छन्,’ शर्माले थपे। 
पुनले पनि विशेष प्रदेशमा ७७ वटै जिल्लाको विशेषता भेटिएको बताए।

‘पार्टी फेरि बन्छ भन्ने मनोभाव पैदा गर्नु नै ठूलो कुरा हो, डाटा विश्लेषण गर्दा योजना निर्माण र त्यसको विकेन्द्रीकरण गर्दा संगठन नयाँ ढंगले चलायमान हुन्छ,’ पुनले भने।

यसरी एकैठाउँ पुगे पुन र शर्मा
माओवादीका प्रभावशाली यी दुई नेताहरू एकै ठाउँमा पुग्न भने ६ वर्ष लागेको छ। 

पार्टी संगठनभित्र बलियो पकड बनाउन यी दुई नेताले अघोषित अभियान चलाए र प्रचण्डपछिको नेता बन्न खोजे । 

तर, एमालेसँगको एकतापछि बनेको नेकपामा यी दुवै नेता सचिवालयमा अटाएनन् । 

सर्वाेच्चले एकता भंग गरिदियो। अनि पूर्ववत् अवस्थामा पुगेको माओवादीले २०७८ पुस १३–१८ मा महाधिवेशन गर्‍यो।

पुन र शर्मा महासचिवका दाबेदार बने।

तर, अध्यक्ष प्रचण्डले यी दुवै नेतालाई आफूपछिको नेताका रूपमा स्वीकार गरेनन्, बरु एकता प्रक्रियाबाट आएका देव गुरुङलाई महासचिव बनाएर दुवैलाई चकित पारिदिए र उपमहासचिवमा सीमित गरिदिए।

अध्यक्ष प्रचण्डका निकट रहेर पनि महासचिव बन्न नसकेपछि उनीहरूले रणनीति बदले।

गएको असार १ गते ६ महिना लामो उपचार गरेर चीनबाट फर्किएपछि पुन र शर्माबीच पटकपटक भएको छलफल र भेटवार्तापछि मिलेर जाने समझदारी भएको हो।

गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकअघि भएको सोही सहमतिपछि पुन र शर्मा मिलेर अघि बढ्न खोजेको देखिन्छ। 
त्यसबेला उनीहरूले एकले अर्काेलाई सघाउने बताएका थिए। 

जसअनुसार, वरिष्ठ नेता मानेर पुनलाई शर्माले सहयोग गर्नेछन् भने शर्मालाई विशेष महाधिवेशनमा महासचिव बनाउन पुनले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

माओवादीले फागुन १–३ विधान सम्मेलन र चैतभित्र विशेष महाधिवेशन गर्ने निर्णय गत साउन १७–२१ मा सम्पन्न केन्द्रीय समिति बैठकले गरिसकेको छ।  

५२ वर्षका पुन र ६० वर्षका शर्माबीच ६ महिनाअघिको समझदारी अब पार्टीका औपचारिक मञ्चमा देखिन थालेको विश्लेषण माओवादीकै नेताहरूले गर्न थालेका छन्।

‘उहाँहरूबीचको सहमति अहिले देखिन थालेको छ,’ आजको बैठकपछि नेपालखबरको सम्पर्कमा आएका एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टीभित्रको समस्या, समाधानको उपाय र पार्टी निर्माण गर्न सकिन्छ भन्ने स्पिरिट हेर्दा उहाँहरू एकै ठाउँमा हुनुहुन्छजस्तो देखिन्छ।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा अब यी दुईमध्ये एकजना पर्ने निश्चित रहेको नेताहरू बताउँछन्।

पुन अहिले प्रधानमन्त्रीको सल्लाहकारका रूपमा काम गरिरहेका छन्। उता संगठनमा शर्माले काम गरिरहेका छन्।

बागमती प्रदेशमा पार्टी नवीकरण झण्डै ७० प्रतिशत नाघेको र केहीले अझै गरिरहेको केन्द्रीय सदस्य एवं रामेछाप इन्चार्ज हरि दाहालले बताए। यसमा शर्मा सफल भएको नेताहरू बताउँछन्।

त्यसबाहेक नेत्रविक्रम चन्द ‘विप्लव’लाई सहजै पार्टी एकताबाट प्रभावशाली बन्न नदिन पनि पुन र शर्मा मिलेको कतिपयको बुझाइ छ।
तर, माओवादीले बनाएको विधानका कतिपय प्रावधानमाथि शर्माले पूरक प्रस्ताव नै राखेका छन्। जबकि, यी दुवै नेता विधान मसौदा समितिमा छन्।

शर्माले पदाधिकारी लगायतको उमेर हद, सबै संरचनामा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने लगायतका प्रस्ताव राखेका छन्।
यस विषयमा पुनले समर्थन वा विरोधमा मुख खोलेका छैनन्।

माओवादीका केही नेताले शर्मा र पुनलाई मिलाएर पार्टीलाई गति दिनुपर्ने बताइरहेका छन्।  उनीहरू यसैगरी अघि बढेमा विधान सम्मेलनसम्म शर्माको पूरक प्रस्तावमा पुनले पनि समर्थन जनाए अनौठो हुने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .