ad ad

राजनीति


अमेरिकी राजनीतिमा अघि बढ्दै भण्डारी : कंग्रेसमेनमा दिए उम्मेदवारी

अमेरिकी राजनीतिमा अघि बढ्दै भण्डारी : कंग्रेसमेनमा दिए उम्मेदवारी

फाइल तस्बिर : अमेरिकी संसद्‌मा गीता छोएर शपथ खाँदै डा. ह्यारी भण्डारी।


रासस
माघ १६, २०८० मंगलबार १३:२६, वासिङ्टन डिसी (अमेरिका)

मेरिल्यान्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी सङ्घीय संसद्को तल्लो सदन कंग्रेसमा डिस्ट्रिक २ बाट उमेदवारीको घोषणा गरेका छन्।

उनको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ। भण्डारीले डेमोक्र्याट पार्टीका तर्फबाट आगामी मे १४ मा हुने प्रारम्भिक निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेको बताए। 

अमेरिकाको मूलधारको राजनीतिमा एक दशकदेखि सक्रिय डा ह्यारी भण्डारीले आफ्नो राजनीतिक यात्रालाई सङ्घीय एकाइतर्फ अगाडि बढाएका हुन्। कंग्रेसमेनका रुपमा उमेदवारी घोषणा गरेका भण्डारीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने उक्त निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीका तर्फबाट उमेदवार हुन पाउने छन्। 

यसपटक मेरिल्यान्ड राज्यमा दुईजना कंग्रेसमेनले निर्वाचन नलड्ने घोषणा गरेकाले यसलाई खुला सिटका रुपमा लिइएको छ। ह्यारीले उमेदवारी दिन लागेको स्थान उनले डेलिगेटमा दुई पटक विजयी भइसकेको स्थान हो। 

तसर्थ ह्यारी यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने  जनप्रतिनिधिसमेत भइसकेका छन्। तर डेमोक्र्याट पार्टीभित्रका हस्तीसमेत निर्वाचनमा होमिएकाले ह्यारीले निर्वाचनमा कडा प्रतिस्पर्धाको सामना भने गर्नुपर्ने छ। 

त्यसको साथमा ह्यारीले निर्वाचनको दौरानमा के कति रकम सङ्कलन गर्न सक्नेछन् भन्ने विषय पनि पेचिलो रहने छ। ‘टिचर फर कंग्रेसमेन’ भन्ने नारा तय गरिएको ह्यारीको चुनावी अभियान करिब एक सय दिनसम्म चल्नेछ। 

नेपाली समुदायको आपत् विपत्‌मा सदैव अग्रपङ्क्तिमा रहेर समुदायको हितमा अहोरात्र खटिने ह्यारीले राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने- विगतमा जस्तै नेपाली अमेरिकनको सहयोग र सद्‌भाव प्राप्त गर्नेमा म विश्वस्त छु। 

ह्यारीले डेलिगेटका रुपमा नेपाली अमेरिकनका आप्रवासनसम्बन्धी विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। कोरोनाकालमा बेरोजगार फारम भर्नेदेखि कोरोना पीडितको उपचारमा समेत ह्यारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कोराना महामारीका बेलामा दिवङ्गत नेपालीको शव व्यवस्थापनमा ह्यारी र उनको टोलीले भूमिका निर्वाह गरेका थिए। 

ह्यारीले नेपालीहरुको सांस्कृतिक पहिचान दिलाउने उद्देश्यले ल्याएको दसैँ बिल मेरिल्यान्ड जनरल एसेम्बलीले पारित गरेर गत अक्टोबर ५ तारिखलाई दसैँ डे भनेर समेत मनाउन थालिएको छ। 

नेपालको पर्वत जिल्लाको ग्रामीण परिवेशमा जन्मिएर अमेरिकाको मूलधारको राजनीतिमा आफूलाई खरो रुपमा उभ्याएका ह्यारीले समुदायको सेवा आफ्नो प्राथमिकतामा सदैव पर्ने बताउने गरेका छन्। नेपाली मूलका व्यक्तिले अहिलेसम्म सङ्घीय निर्वाचनमा जित हासिल गर्न सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .